पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशैभर मनाईदै

1325 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज समाचारदाता

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको योगदान लाई सम्झंदै विभिन्न कार्यक्रमका साथ  मनाइँदैछ । सरकारी तहबाट पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा कुनै औपचरिक कार्यक्रम आयोजना नगरिएको भएपनि सामाजिक संघ संस्था र नागरिक तहबाट भने छुट्टाछुट्टै कार्यक्रम गरि देशैभरी मनाईदैछ ।विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले बिदा दिन कटौती गरेको हो । यस अघि पुस २७ गतेलाई सार्वजनिक बिदा दिने गरिएको थियो ।

राष्ट्रिय एकता दिवसको अवसर पारेर गोरखाबाट धादिङ, नुवाकोट हुंदै काठमाण्डौं सम्म नेपाली सेनाले ऐतिहासिक पदमार्गमा एकीकरण पदयात्रा सम्पन्न गरेको छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेको पदमार्गलाई संरक्षण गरी राष्ट्रिय एकताको सन्देश प्रवाह गर्न नेपाली सेनाले गत बर्षबाट एकीकरण पदयात्रा गर्न थालेको हो ।

सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिएको छ । नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गरेको छ ।

पृथ्वीनारायण शाहको जन्मथलो तथा शाह वंशका राजाहरुको मुख्य दरवार रहेको गोरखा नगरपालिाकाले  र  नुवाकोटको विदुर नगरपालिकाले पृथ्वीजयन्तीको अवसरमा आज आफ्नो स्थानीय तहमा सार्वजनिक विदा दिएका छन् ।नुवाकोट बाट नेपाल एकीकरणको शुरुवात गर्दै एक पछि अर्को विजय हासिल गरी नुवाकोटको सात तले दरवारबाट राज्यसत्ता सञ्चालन गर्नुका साथै देहावसान समेत नगरपालिका भित्रै भएको भन्दै विदुर नगरपालिकाले स्थानीय पहिचान झल्काउन राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात् पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्रका रुपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो । गोरखामा सिमित राज्यलाई विस्तार गरी एकीकृत नेपाल निर्माण गर्न पृथ्वीनारायण शाहको ठूलो योगदान रहेको छ । शाहले आफ्नो शासनकालमा चार दर्जनबढी साना–साना राज्यलाई जोडेर नेपालको एकीकरण गरेका थिए । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।