गहना लुट्न ७५ वर्षिया वृद्धाको हत्या , पाँचजना पक्राउ

1163 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– केशव अधिकारी

धादिङ, २२ फागुन । धादिङको धुनिबेशी नगरपालिका–४ जिम्वालगाउँ ढुंगेनीमा गएको पुस २४ गते राति ७५ वर्षिया वृद्धाको हत्या गरी गरगहना लुटी फरार भएका पाँचजना काठमाडौंबाट पक्राउ परेका छन ।

सान्नानी सार्कीको हत्यामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । सार्कीको हत्यामा संलग्न पाँचैजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

वृद्धाले कान र घाँटीमा लगाएको गरगहना लुट्नकै लागि उनको हत्या भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रुपा थापाका अनुसार लुटेरा समूहले गत पुस २४ गते राति २ बजे आफ्नै घरमा सुतिरहेको समयमा सान्नानीको हत्या गरेका हुन ।

बृद्धाको हत्यामा संलग्न भएको आरोपमा मकवानपुर जिल्ला मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ बस्ने २५ वर्षीय अनिल थिङ भनिने जयबहादुर सिंगार, खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नम्बर ९ मा जन्मभइ सप्तरी जिल्ला अग्नीसाईर कृष्णसवरन गाउँपालिका वडा नम्बर ६ बस्ने बर्ष ३२ का साजन विक, ओखलढुंगा जिल्ल्ला चिशखुंसीगढी गाउँपालिका वडा नम्बर ३ मा जन्मभई मोरङ जिल्ला बिराटनगर महानगर पालिका वडा नम्बर ३ घर भई काठमाण्डौँ थानकोट बस्ने बर्ष २४ का अविसराज कार्की, काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका १३ माईती घर भई नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर ५ घर भई काठमाण्डौँ वाफल बस्ने वर्ष ३३ की पुष्पाकुमारी पौडेल र काभ्रेपलान्चोक जिल्ला धुलीखेल नगरपालिका वडा नम्बर–२ घर भइ काठमाण्डौँ कालीमाटी बस्ने वर्ष ४२ का सुन व्यवसायी धनबहादुर कालीराजलाई धादिङ प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरी घटनाको बिस्तृत जानकारी सार्वजनिक गरेको हो ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर र सोही संहिताको परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक  महेन्द्र  खड्काले बताए ।

प्रहरीका अनुसार ससुरालीमा बस्दै आएका अनिल थिङ भन्ने जयबहादुर सिंगारले लामो समयदेखि सान्नानीको बारेमा जानकारी लिंदै आएको र सोही योजना अनुसार उनको हत्या गर्नकै लागि काठमाण्डौमा भेटेर छलफल गरी योजना बनाएर चारजना साथीहरु बोलाई हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

घटना भएदेखि नै धादिङ र काठमाडौँमा प्रहरीले खोजी कार्य शुरु गरेको थियो । घटनापछि शंकास्पद व्यवहार देखाउँदै आएका अनिल थिङ भनिने जय बहादुर सिंगारलाई फागुन १७ गते पक्राउ गरी बयान लिँदा घटनाको रहस्य खुलेपछि अन्य चारजनालाई गत माघ २५ गते पक्राउ गरी अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

सुनका गहना लुटपाट गर्ने योजना बनाई पहिलेदेखि ससुराली घरमा बस्दै आएका अनिल थिङ भन्ने जयबहादुर सिंगारले अन्य प्रतिवादीहरुलाई काठमाडौँमा बोलाई योजना बनाएको पाइएको अनुसन्धानमा संलग्न प्रहरीले बताए ।

योजना बमोजिम मध्यरातमा सान्नानीको घरमा पुगी टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरी गरगहना लुछी टोली राति नै गाउँबाट राजधानी फर्केको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । ‘अनुसन्धानका क्रममा योजना बमोजिम हत्या गरिएको अनुसन्धानका क्रममा खुलेको छ’, खड्काले भने ।

हत्यागरी सुनका गरगहना लुटेर काठमाडौँ फरार भएका उनीहरुले भोलिपल्ट पुष्पाकुमारी पौडेल मार्फत कालीमाटीका सुन व्यवसायी धनबहादुर कालीराजलाई ५० हजार तीन सय ८९ मा बिक्री गरी आएको रकम एकआपसमा बाँडफाँड गरेको अनुसन्धाानका क्रममा खुलेको प्रहरीले बताएको छ ।

श्रीमान र श्रीमती अलग अलग घरमा बसेको दिन पत्ता लगाई उनको हत्या भएको थियो । मृतक सार्कीको २ छोरा काठमाण्डौंमा बस्दै आइरहेका छन् भने छोरीको विवाह भइसकेको छ । घर कुर्नका लागि अर्को घरमा सुतेको दिन पारेर लुटेरासमूहले उनको हत्या गरेका थिए ।