पत्रकार महासंघ धादिङमाआइसोलेसन केन्द्र स्थापना पत्रकारहरुमा कोभिड पोजिटिभ देखिए आईशोलेट भएर बस्न सकिने

625 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १२ जेठ-कोरोना महामारीको जोखिमलाई मध्यनजर गरेर धादिङमा संक्रमित पत्रकारहरूका लागि तत्कालिन अबस्थामा सुरक्षित राख्नका लागि आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला अस्पताल र स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि बेडहरू पाउन कठिन भइरहेका बेला नेपाल पत्रकार महासंघ धादिङ शाखाले जिल्लाका संक्रमित पत्रकारहरूका लागि शान्ति नेपाल संस्थाको सहयोगमा आइसोलेसन केन्द्र स्थापना गरेको हो ।

कोठा भाडा लिएर बसिरहेका वा आफ्नै घरमा परिवारका साथ बसिरहेका पत्रकारलाई आईसोलेट भएर छुट्टै बस्नुपर्ने अबस्था आएमा सहज वातावरण मिलाउन नेपाल पत्रकार महासंघ धादिङको भवनमा बुधवार देखि ५ बेडको आइसोलेसन केन्द्र स्थापना गरिएको महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष राजाराम शर्माले जानकारी दिनुभयो ।

अरुको घरमा भाडामा बस्ने, एउटै कोठामा २ जना वा सो भन्दा बढि बस्ने पत्रकारहरुमा कोभिड पोजिटिभ देखियो भने आइसोलेट भएर बस्ने व्यवस्थाकालागि पत्रकार महासंघ धादिङ शाखाले ५ बेडको आइसोलेशन कक्ष शुरु गरेको अध्यक्ष शर्माले वताउनुभयो ।

अध्यक्ष शर्माका अनुसार महासंघको आईसोलेशनमा रहने विरामीका लागि सामान्य स्वास्थ्य परामर्श नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले एक जना स्वास्थ्यकर्मी मार्फत सेवा दिंनेछ भने मनोपरामर्श सहयात्री समाजले दिनेछ । गाह्रो अप्ठेरोभएपछि नजिकै रहेको अस्थाइ कोभिड १९ अस्पताल र धादिङ अस्पतालबाट सेवा दिनेगरि व्यवस्था गरिएको छ । अत्यावश्यक पर्दा अक्सिजनको व्यवस्था पनि गरिएको छ ।
महासंघले स्थापना गरेको आईशोलेसन कक्षका लागि जिल्ला शाखा पूर्व अध्यक्ष नवराज छत्कुलीका साथै अन्य व्यक्तिले विभिन्न सामाग्री सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।