लायन्स क्लवअफ नेपाल हाईलाईट्स बाट स्वास्थ्य सामाग्री सहयोग

824 पटक पढिएको

प्रकाशित मिति: २०७८, २३ जेष्ठ आईतवार ११:४२

सम्पादक: धादिङ न्यूज

 

 

 

धादिङ,२३ जेठ । विभिन्न सामाजिक हितका कार्यहरु गर्दै आईरहेको लायन्स क्लव अफ नेपाल हाईलाईट्सले धादिङको अस्थायी कोभिड अस्पतालका साथै जिल्लाका अन्य चार वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामाग्रीहरु सहयोग गरेको छ ।

क्लबले रुमाहेदी फाउण्डेशन र स्टिचिङ प्रोजेक्टशन इन नेपाल ( एसपिआईन) को आर्थिक सहयोगमा धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा सञ्चालित अस्थायी कोभिड अस्पताल, ज्वालामुखी गाउँपालिकाको सालवास, त्रिपुरासुन्दरी गाउँपालिकाको मुलपानी र आगिन्चोक स्वास्थ्य चौकीका साथै सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रलाई विभिन्न स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको हो ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुका लागि अक्सिजन कन्सनट्रेटर ४ थान,अक्सिजन रेगुलेटर २० थान, डिजिटल थर्मोमिटर २० थान,फेस शिल्ड एक सय वटा,अक्सिजन मास्क २० थान, पल्स अक्सिमिटर २० थान, पिपिई सेट ४० वटा, सर्जिकल मास्क ३५०० थान, थर्मल गन १० थान, स्यानिटाईजर १२५ लिटर, स्टिमर २५ थान र एक सय जनालाई भिटामिन औषधि उपलव्ध गराईएको क्लवका अध्यक्ष चिरन्जिबी खकुरालले वताउनुभयो ।

जिल्ला अस्पताल द्धारा सञ्चालित अस्थायी कोभिड अस्पताल धादिङबेसीमा अक्सिजनको मिनी प्लाण्ट जडान गरी सञ्चालनमा आईरहेकोले अक्सिजन कन्सनट्रेटर ग्रामीण भेगका स्वास्थ्य संस्थालाई प्राथमिकता दिईएको पनि अध्यक्ष खकुरालले जानकारी दिनुभयो ।

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षा,उपचारमा रहेका विरामी र तिनका कुरुवाको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गराईएको क्लवले जनाएको छ । स्वास्थ्य संस्थाहरुमा पुगेर सामाग्री बितरण गर्ने कार्यमा क्लवका अध्यक्ष खकुरालका साथै अन्य सदस्यहरु विनोद सडौला, इश्वर भण्डारी र बुद्धिप्रसाद बुर्लाकोटीको सहभागिता रहेको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, २३ जेष्ठ आईतवार ११:४२ मा प्रकाशित