नागढुंगा नौबीसे सुरुङमार्ग डेढ किलोमिटर सम्पन्न

1772 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- बहुचर्चित नागढुंगा नौबीसे सुरुङमार्ग डेढ किलोमिटर निर्माण सम्पन्न भएको छ । सुरुङमार्ग निर्माण आयोजनाका अनुसार १ हजार ५ सय ५२ मिटर खन्ने काम सकिएको छ ।

सुरुङ निर्माणको काम गतबर्षको पुस महिनाबाट शुरु गरिएको थियो । २०७६ कात्तिक ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको १४ महिनापछि मात्रै सुरुङ निर्माणको काम सुरु भएको थियो।

आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार ५ हजार ४ सय ९९ मिटर सुरुङ खन्नुपर्नेमा अहिले सम्म २८.२२ प्रतिशत काम भएको हो । कुल ५ दशमलव ७ किलोमिटरको एप्रोच मार्गसहितको सडकमा सुरुङमार्ग भने २ दशमलव ६८ किमीको हुने आयोजना प्रमुख शाक्यले वताउनुभयो ।

सुरुङमार्ग धादिङको सिस्नेखोलाबाट शुरु भई त्रिभुवन राजमार्गको काठमाडौंस्थित बलम्बु नजिकै जोडिनेछ । नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) बीच मा सन२०१६ मा सुरुङमार्ग निर्माणको सम्झौता भएको थियो। आयोजनाको लागत २२ अर्ब अनुमान गरिएको छ ।

सुरुङमार्गमा ७ वटा पुल, ११ वटा बक्स कल्भर्ट, दुवैतर्फ सडक दस्तुर संकलन गर्न टोल संरचना, सुरुङमार्गको सम्पूर्ण अवस्थाको अनुगमन गर्न नियन्त्रण कक्ष, छुट्टै विद्युत् लाइन र २ वटा फ्लाइओभर ब्रिज बन्नेछन्।

सुरुङमार्ग निर्माण स्थल नजिकै सडक विस्तारका लागि खनिएको स्थानमा पहिरो खस्दा केही समय देखि सडकमा आवागमन रोकिनुका साथै सिंगो बस्ती समेत संकटमा पर्दै आईरहेको छ ।