गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

603 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ(गजुरी) । नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ।

बैंककी सञ्चालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा बिहीबार आयोजित एक कार्यक्रमबिच नबिल बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका तर्फबाट अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले साझेदारी सम्झौतापत्रमा हस्ताक्ष गरेका छन्।

उक्त साझेदारीमार्फत स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तथा तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई उद्यमका लागि गाउँपालिकाको सिफारिसमा बैंकको नियमानुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम तथा तालिममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ।

कार्यक्रममा बैंक सञ्चालक अधिकारीले यस सम्झौताले गजुरी गाउँपालिकामा रोजगारी सिर्जना र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताइन्।

त्यस्तै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्नवर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने धारणा व्यक्त गरे।

गाउँपालिका उपाध्यक्ष सीता ढुंगानाले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम ल्याएकोमा नबिल बैंकलाई धन्यवाद दिँदै वित्तीय पहुँचलाई महिला तथा विपन्न वर्ग लक्षित बनाउनुपर्ने र त्यसका लागि गाउँपालिकाको सधैँ सहयोग रहनेसमेत बताइन्।

कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरुका साथै अन्यको समेत उपस्थिति थियो।

नबिल बैंकले गत असार १५ गते धान दिवसका दिन नबिल दिगो बैंकिङको सुरुआत गरेको हो। सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो।

यो कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा सुरु गरेको छ। बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशिलता विकासका लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गरेर नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा प्रवाह गर्दै आएको छ।