धादिङ अस्पतालमा शुरु भयो पिसिआर परीक्षण

649 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ११ माघ – धादिङ जिल्लाको सदरमुकाममा रहेको धादिङ अस्पतालले पिसिआर परीक्षण सेवा शुरु गरेको छ । कोरोना भाईरसको संक्रमण बढ्नेक्रम जारी रहेको अवस्थामा जिल्लामै पीसीआर परिक्षण सेवा शुरु गरिएको हो ।

कोरोना भाईरस संक्रमणको जोखिम न्युनिकरण गर्न र छिटो छरितो पीसीआर परिक्षण गरी संक्रमित भए नभएको पुष्टी गर्न अब जिल्लामै पीसीआर परिक्षण शुरु भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा स्थापना गरिएको पिसिआर परिक्षण ल्याव यहि माघ ७ गते बाट संचालनमा आएको हो । जनशक्तिको अभाव भएका कारण अस्पतालले पिसिआर परीक्षण सेवा हप्तामा २ दिन मात्रै सञ्चालन गर्न थालेको धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झा ले जानकारी दिनुभयो ।

मेडिकल सुपरिटेन्डेन्ट डा. झाका अनुसार पहिलो दिन ३२ जनाको आरटि पिसिआर परीक्षण गरेर सेवा शुरुवात गरिएको थियो । दैनिक रूपमा नमुना संकलन गर्न जनशक्तिको अभाव भएका कारणले हप्ताको २ दिन मात्र परीक्षण शुरु गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा. झाले वताउनुभयो । नमुना संकलन गरेको १२ घण्टा पछि रिपोर्ट आउने गरेको छ । अहिले ३ जना ल्याव टेक्निसियन मार्फत ल्याव संचालनमा ल्याईएको अस्पतालले जनाएको छ ।

यसअघि धादिङमा पिसिआर परिक्षण नहुँदा व्यक्तिको स्वाव संकलन गरी चितवन, काठमाण्डौं, नुवाकोट,धुलिखेल, पोखरा पठाएर परिक्षण गर्ने गरिएको थियो । जिल्लामै सञ्चालन भएको पीसीआर परिक्षणले नागरिकलाई सहज हुने भन्दै सर्वसाधरणले खुसी व्यक्त गरेका छन् ।

यसै बिच मंगलबार जिल्लाको धुनिबेसिमा २२, गल्छीमा ५, गजुरीमा ५, बेनिघाटमा ५, ज्वालामुखीमा २९, त्रिपुरासुन्दरीमा १०, गंगाजमुनामा ५ र धादिंग हस्पिटलमा २६ गरि जिल्लाभर १०७ जनामा पोजिटिभ केश देखिएको छ भने २३ जना निको भएको स्वास्थ्य कार्यालयका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक डा.भुवन पौडेलले जानकारी दिनुभयो ।
डा.पौडेलका अनुसार जिल्लाको सक्रिय केश ६८६ पुगेको छ र १६ जना हस्पिटल आइसोलेसनमा रहेर उपचार गराईरहेका छन् ।

मंगलबार १८५ जनामा एण्टीजेन परिक्षण गरिएकोमा १०७ जनामा पोजिटिभ देखिएको छ । जिल्लाको पोजिटिभिटि दर ५७.८ ५ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।