नागढुंगा-नौबिसे-मुग्लिङ सडक विस्तार गर्न साढे ६ अर्बमा ठेक्का साढे ६ अर्बमा लाग्यो ठेक्का,बस्ती र बजार क्षेत्रको सडक ४ लेनको हुने

1201 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाडौं । नागढुंगा-मुग्लिङ सडक खण्डको विस्तारका लागि ठेक्का लागेको छ । ९६ किलोमिटर लम्बाइ रहेको नागढुंगा-मुग्लिन खण्डको ठेक्का प्राविधिक मूल्यांकन सकिएको ५ महिनापछि टुंगो लागेको हो ।

 

सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले ठेक्का नागढुंगा-नौबिसे र नोबिसे-मलेखु गरी दुई प्याकेजमा ठेक्का लगाएको हो ।

 

१२.२६ किलोमिटरको नागढ्ंगा-नौबिसे खण्डको ठेक्का एम/एस जियाङसु-सगुन जेभीले पाएको छ भने नौबिसे-मलेखु खण्ड ४३.५४२ किलोमिटरको ठेक्का शर्मा-लामा-जेडआइसीजी जेभीले पाएको छ । दुबै ठेक्का कुल साढे ६ अर्ब लागतमा बनाउने गरी उक्त कम्पनीहरुले ठेक्का पाएका हुन् ।

 

नागढुंगा-नौबिसे खण्डका लागि १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा र नौबिसे-मलेखु खण्डका लागि ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा लागतमा ठेक्का लगाइएको हो । चिनियाँ कम्पनीसँग नेपाली कम्पनी जेभी (संयुक्त लगानी) मा ठेक्का पाएका हुन् ।

 

नागढुंगा-मुग्लिन खण्डमा पर्ने उक्त सडक ३ वटा चरणमा विभाजन गरेर विस्तार गर्न लागिएको छ । जसमा नागढुंगा-नौबिसे १२.६२ किलोमिटर, नौबिसे-मलेखु ४३.५२ किलोमिटर र मलेखु-मुग्लिन ४० किलोमिटर विस्तार गर्ने योजना रहेको छ ।

 

विभागले गरेको डिजाइन अनुसार नागढुंगा-मुग्लिन खण्डमा २१ वटा पुलको निर्माण हुनेछ । हाल सञ्चालनमा रहेका पुल नभत्काई सडकको चौडाइ अनुसार नै छेउमा पुल निर्माण गरिने छ । नागढुंगा-मुग्लिन खण्डको ३६ किलोमिटर खण्ड ३ लेनको हुनेछ । बस्ती र बजार क्षेत्रको सडक ४ लेनको हुने छन् । उकालो भएका स्थानमा ३ लेनमा सडक बनाइने छ ।