धादिङमा ६ पदका लागि ७४ जनाको उम्मेदवारी दर्ता

496 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दुई संघीय निर्वाचन क्षेत्र र ४ प्रदेश सभा सदस्यका लागि धादिङ जिल्लामा विभिन्न राजनैतिक दल र स्वतन्त्र गरी ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी

धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १४ जनाको उम्मेदवारी दर्ता भएको छ । संघीय सांसद पदमा उम्मेदवारी दर्ता गराउनेहरुमा नेकपा एमालेका भूमी प्रसाद त्रिपाठी, नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त,राष्ट्रिय प्रजातन्त्र पार्टीका अजयकुमार रिमाल, जनता समाजवादी पार्टीका नोरमान तामाङ रहेका छन् ।
त्यसै गरी उम्मेदवारी दर्ता गर्नेहरुमा जनसमाजवादी पार्टी नेपालका पुष्कर सेढाई,नेपाल मजदुर किसान पार्टीका विश्व अम्मर महर्जन, मंगोल नेशनल अर्गनाईजेशनका सुमन तामाङ रहेका छन् । धादिङका पुराना वामपन्थी नेता उत्तमराज शर्मा कँडेलले स्वतन्त्र रुपमा संघीय सांसद पदका लागि मनोनयन दर्ता गराएका छन । स्वतन्त्रबाट उम्मेदवारी दिने अन्यमा अर्जुन तिमल्सेना,ऋषि खतिवडा,जनक भट्टराई, प्रदिप श्रेष्ठ, प्रमोद उप्रेती रहेका छन् ।

प्रदेश सभा १ (क) मा १५ जना भिड्दै

प्रतिनिधि सभा सदस्य १ जनाका लागि १४ जनाको उम्मेदवारी परेको यस निर्वाचन क्षेत्रको प्रदेश सभा क मा १५ जनाको उम्मेदवारी परेको छ । जस्मा नेकपा एमालेका रमेशकुमार आचार्य, नेपाली काँग्रेसका मदुकुमार श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गिता प्रसाद आचार्य, जनसमाजवादी पार्टी नेपालका बिष्णु नेपाली, मंगोल नेशनल अर्गनाईजेशनका धर्मराज गुरुङ,नेपाल मजदुर किसान पार्टीका पदमबहादुर तामाङ,जनता समाजवादी पार्टी नेपालका सूर्यवहादुर तामाङले दलको तर्फ प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा नेत्रराज पौडेलले एमालेका आधिकारिक उम्मेदवार बिरुद्ध उम्मेदवारी दिएका छन भने सत्ता गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार बिरुद्ध माओवादी केन्द्रका इश्वर कोईरालाले उम्मेदवारी दिएका छन । ति बाहेक कुमार विश्वकर्मा, माधव खतिवडा, रमेशप्रसाद आचार्य, रविना पौडेल,सुजन थिङ,सुरतकुमार श्रेष्ठको स्वतन्त्रबाट उम्मेदवारी परेको छ ।

प्रदेश सभा १ ( ख)मा ११ जनाको मनोनयन दर्ता

प्रतिनिधि सभा १ को २ तर्फ ११ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेहरुमा नेकपा एमालेका गजेन्द्र प्रसाद थपलिया, सत्ता गठवन्धनबाट माओवादी केन्द्रका शालिकराम जमकट्टेल रहेका छन् । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितबहादुर भण्डारी, नेपाली काँग्रेस (विपि)बाट एकराज सिलवाल, मंगोल नेशनल अर्गनाईजेशनबाट मिनबहादुर थापा मगर, जन समाजवादी पार्टी नेपालबाट बुद्धिवल उपरकोटी र स्वतन्त्रबाट इश्वरप्रसाद खरेल, दिलवबहादुर घले, देवेन्द्र प्रसाद शर्मा, शालिग्राम अर्याल र ज्ञानेन्द्र प्रसाद सिलवालको उम्मेदवारी दर्ता भएको १ नम्बर क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय महेशदोभानले जनाएको छ ।

धादिङ २ बाट संघीय सांसदको लागि १७ जनाको मनोनयन

प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा संघीय सांसदको लागि नेकपा एमालेका तर्फबाट खेमप्रसाद लोहनी, सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका रामनाथ अधिकारीको उम्मेदवारी दर्ता भएको छ । यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट परशुराम तामाङ, नेपाली काँग्रेस (विपी)बाट शंकर दर्जी, जनता समाजवादी पार्टी नेपालबाट मेकरमान तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ, मंगोल नेशनल अर्गनाईजेशनबाट धनमाया तामाङ, नेपाल मजदुर किसान पार्टीबाट चक्रबहादुर शाहले मनोनयन दर्ता गराएका छन् । सत्ता गठवन्धनका उम्मेदवार रामनाथ अधिकारी विरुद्ध नेपाली काँग्रेस धादिङका पूर्व सभापति रमेश धमलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।
यस क्षेत्रमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गर्नेहरुमा टिकानिधि काप्री, दुर्गकुमार शाक्य,बाबुकृष्ण श्रेष्ठ, रमेश पौडेल, रुद्रवहादुर गेलाङ मगर,सरोज बुढाथोकी, सञ्जय दुवाडी र हरीप्रसाद घिमिरे रहेका छन् ।

प्रदेश सभा २ क मा ६ जना मात्रै उम्मेदवार

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नामावली अनुसार प्रदेश सभा २ क मा नेकपा एमालेबाट डाक्टर रामकुमार अधिकारी, सत्ता गठवन्धनबाट नेपाली काँग्रेसका गोविन्द लम्सालको मनोनयन दर्ता भएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका नारायणप्रसाद पोखरेल, मंगोल नेशनल अर्गनाईजेशनका शालिकराम थापा मगर र स्वतन्त्रमा खडग्कुमारी सापकोटा र दयराम लम्सालले मनोनयन दर्ता गराएका छन् ।

प्रदेश सभा २ ख मा ११ जनाको उम्मेदवारी दर्ता

यसै क्षेत्रको प्रदेश सभा ख मा ११ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा २ ख बाट उम्मेदवारी दर्ता गर्नेहरुमा नेकपा एमालेका धनबहादुर घले, सत्ता गठवन्धनबाट नेकपा माओवादी केन्द्रका जगत बहादुर सिम्खडाको उम्मेदवारी परेको छ । सत्ता गठवन्धनका उम्मेदवार बिरुद्ध नेपाली काँग्रेसका तर्फबाट त्रिपुरासुन्दरी गाउँपालिकाकी देवीकुमारी बुर्लाकोटीको स्वतन्त्र उम्मेदवारी परेको छ । यसै गरी नेपाली काँग्रेस (विपि)बाट सेतेमान घले,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बर घले,जनता समावजादी पार्टी नेपालबाट इमान तामाङ, नेपाल मजदुर किसान पार्टीबाट शिवराम किजु,मंगोल नेशनल अर्गनाईजेशनबाट सन्तोष तामाङ र स्वतन्त्रबाट मानवहादुर तामाङ,रामकृष्ण बसौला र सुन्दर तामाङको उम्मेदवारी दर्ता भएको क्षेत्र नम्बर २ निर्वाचन अधिकृत कार्यालय धादिङबेसीले जनाएको छ ।

काँग्रेसका पूर्व सभापति रमेश धमलाको वागी उम्मेदवारी

नेपाली काँग्रेस सभापति रामनाथ अधिकारीले केन्द्रीय सदस्य दिलमान पाख्रिनले पाएको टिकट खोसेर टिकट ल्याएको भन्दै नेपाली काँग्रेस धादिङका पूर्व सभापति रमेश धमलाले उम्मेदवारी दर्ता गराएका छन् । आफूले पाउनुपर्ने टिकट पार्टी सभापति लाई दिएको भन्दै धमलाले उम्मेदवारी दर्ता गराएका हुन् । धमला २०७४ को प्रदेशसभामा नेपाली काँग्रेसका तर्फबाट २ क मा उम्मेदवार थिए ।

माओवादी उम्मेदवार बिरुद्ध काँग्रेसको वागी उम्मेदवार

नेपाली कांग्रेसकी नेत्तृ त्रिपुरासुन्दरी गाउँपालिकाका पूर्व उपाध्यक्ष देवीकुमारी पाण्डे बुर्लाकोटीले प्रतिनिधि सभा २ (ख) मा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।सत्ता गठवन्धनको तर्फ बाट यस क्षेत्रमा नेकपा माओवादी केन्द्र का जगत बहादुर सिंखडाले दोश्रो पटक टिकट पाएपछि माओवादी केन्द्र र नेपाली काँग्रेसका केही कार्यकर्ताले असन्तुष्ठि जनाएका हुन् ।

नेपाली काँग्रेस (विपि)ले पनि दियो उम्मेदवारी

नेपाली काँग्रेसको कृयाकलाप प्रति असहमती राख्दै नगठन भएको नेपाली काँग्रेस विपिले धादिङ जिल्लामा यस पटकको निर्वाचनमा आफ्नो उपस्थिती जनाएको छ ।
नेपाली काँग्रेस विपिको तर्फबाट नेपाली काँग्रेसका पुराना नेता एकराज सिलवालले प्रदेश सभा १ ख मा र दलित नेता शंकर दर्र्जीले संघीय निर्वाचन क्षेत्र नम्बर २ मा सेतेमान घलेले २ ख मा प्रदेश सभा सदस्य उम्मेदवारी दर्ता गराएका छन् ।

पुराना वामपन्थी नेता उत्तमराज कँडेल राजेन्द्र पाण्डे संगै मैदानमा

नेकपा माओवादी केन्द्रको स्थापित नेताका रुपमा रहनुभएका उत्तम कँडेलले धादिङको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेका समकक्षी नेता कँडेल नेकपा एमालेबाट २०५४ मा जिल्ला विकास समितिको उप सभापति विजयी भएका थिए । एमाले बाट माओवादी पार्टीमा प्रवेश गरी काम गरेका कँडेल केही बर्ष देखि स्वतन्त्र वामपन्थीका रुपमा कृयाशिल छन् । कँडेल संगै यो क्षेत्रमा नेकपा एमालेका भूमी त्रिपाठी र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मैदानमा छन ।