नेता पाख्रिनको चेतावनी-मंसिर ४ मा हिसाव किताव हुन्छ

509 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम पूर्व राज्यमन्त्री दिलमान पाख्रिनले टिकट वितरण प्रकृया गलत भएको कारण पार्टीको निर्णय नमान्ने चेतावनी दिएका छन् ।


आईतबार धादिङको किन्ताङफेदीमा आयोजित २६ औं दामन पाख्रिन स्मृति दिवसलाई सम्वोधन गर्दै काँग्रेस नेता पाख्रिनले टिकट बितरण प्रक्रिया बारे असन्तुष्ट जनाउँदै मंसिर ४ मा हिसाव किताव हुने चेतावनी दिएका हुन् ।

नेपाली काँग्रेस धादिङका संस्थापक एवम पूर्व सांसद दामन पाख्रिनको स्मृतिमा दामन पाख्रिन स्मृति प्रतिष्ठानले आयोजना गरेको आम भेला तथा बृहत सांस्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै केन्द्रिय सदस्य दिलमानले गठवन्धनको नाममा भएको निर्णय मान्न नसकिने वताएका हुन ।

नेपाली काँग्रेस संसदीय समितिले धादिङ २ बाट पाख्रिनलाई टिकट सिफारिस गरेको भएपनि अन्तिम समयमा आएर नेपाली काँग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले टिकट पाएका थिए । आंफुलाई सिफारिस गरिएको टिकट अधिकारीले पाएपछि पाख्रिनले पार्टी निर्णयप्रति असन्तुष्टि जनाउँदै आईरहेका छन् ।


पार्टी सभापति देउवा निकट रहेका पाख्रिनले टिकट नपाएपछि उनका समर्थकहरु आक्रोशित देखिएका छन् । आंफु निकटका असन्तुष्ठहरुको भेला गरी सार्वजनिक रुपमा पार्टी निर्णय मान्न नसकिने संकेत पाख्रिनले दिएपछि यस्को असर सत्ता गठवन्धनलाई पर्ने देखिन्छ ।

चुनावको टिकट बितरण प्रक्रियामा केन्द्रीय नेतृत्वले धादिङको भुगोल र जनताको रोजाई अनुसारको व्यक्ति उम्मेद्वार छनोट गर्न नसकेको पाख्रिनको गुनासो छ । नेपाली काग्रेस पार्टीमा आफ्नो तीन पुस्ताको लगानी रहेको भन्दै पाख्रिनले नेतृत्वले समयमा नै सोचेर बुद्धि पु¥याएर टिकट बितरणमा अन्याए भएको रहेछ भनेर नसच्चिए मंसिर ४ मा त्यसको हिसाव किताव हुने चेतावनी दिएका हुन ।

आफुहरु नेताको खेलौना मात्र नभएको र नेपाली काग्रेस प्रति संधैभरी माया स्नेह रहेको समेत उनले सभामा बताए । आफ्नो बोली दिलमान पाख्रिनको मात्र नभई सिङगो धाादिङको उत्तरी क्षेत्रका जनताको साझा बोली रहेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले वताएका थिए ।


आदिबासी जनजातीहरुकोे ढुकढुकी बन्न आफु सफल भएको भन्दै सवैलाई नडराउन नआत्तिन समेत उनले आग्रह गरेका छन् । सवै राजनितिक दलहरु सत्तामा कसरी आफु पुग्ने भन्ने तर्फ मात्र ध्यान भएको र जनताको सुख,दुख र बिकास निर्माणमा ध्यान नगएको उनको गुनासो थियो । आईतबारको कार्यक्रममा दिलमान समर्थित नेपाली काँग्रेसका नेता कार्यकर्ता र शुभचिन्तकहरुको ठूलो संख्यामा उपस्थिती रहेको थियो ।

टिकट बितरण पछि पार्टीको औपचारिक कार्यक्रममा कतै पनि नदेखिएका पाख्रिनको उपस्थितीमा आईतबार भएको सभाले पार्टी भित्रको बिबाद र असन्तुष्ठिलाई स्पष्ट संग छताछुल्ल पारिदिएको छ । टिकट वितरणमा असन्तुष्टि जनाउँदै वागी उम्मेदवारी दिएका काँग्रेस धादिङका पूर्व सभापति रमेश धमलाले भने उम्मेदवारी फिर्ता लिएर पार्टीको उम्मेदवारको पक्षमा मत माग्दै हिंडिरहेका छन् । पाख्रिन पक्षका नेता कार्यकर्ता भने अहिले सम्म चुनावी कार्यक्रममा अनुपस्थित रहँदै आएको छ ।

नेपाली काँग्रेस धादिङका संस्थापक एवम पूर्व सांसद दामन पाख्रिन दिलमानका बुवा हुन । स्वर्गिय दामनको स्मृतिमा दामन पाख्रिन स्मृति प्रतिष्ठानले समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।


धादिङको सत्यदेवी घर भएका पाख्रिन २०४७ सालमा धादिङ क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । उनी लामो समय नेपाली काँग्रेस धादिङको सभापति समेत भएका थिए । स्वर्गिय पाख्रिनका छोरा दिलमान २०७० मा संविधान सभामा नेपाली कांग्रेसको तर्फवाट समानुपातिक सभासद थिए भने २०७४ भदौमा कानून न्याय तथा संसदीय मामिला राज्यमन्त्री नियुक्त भएका थिए ।मन्त्री रहेकै बेला पाख्रिनले २०७४ को निर्वाचन नेकपा एमालेका उम्मेदवार खेम लोहनी संग पराजित भएका थिए । त्यति बेला पाख्रिनले ३५ हजार ६ सय १६ मत पाएका थिए भने चुनाव जितेका लोहनीले ३६ हजार २ सय ५६ मत ल्याएर विजयी भएका थिए ।

अघिल्लो निर्वाचनमा पराजय भोगेका पाख्रिन यस पटक उम्मेदवार भएर चुनाव जित्न चाहन्थे । काँग्रेसले रामनाथ अधिकारीलाई टिकट दिएको छ भने एमालेबाट खेम लोहनी चुनावी मैदानमा छन् । अधिकारीलाई सत्ता गठवन्धनको साथ छ भने लोहनीलाई राप्रपाले समर्थन गरेको छ ।

एक नागरपालिका र ६ गाउँपालिका रहेको धादिङ क्षेत्र नम्बर २ मा कुल १ लाख ३३ हजार ६ सय ४२ मतदाता रहेका छन् । यस क्षेत्रबाट ६ राजनैतिक दल र ८ स्वतन्त्र गरी १४ जना चुनावी मैदानमा रहेपनि मुख्य प्रतिस्पर्धा भने सत्ता गठवन्धन र एमालेका बिच हुने देखिन्छ । यस क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार बिरुद्ध टिकानिधि काप्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दिलमान पक्षधरले पार्टीका उम्मेदवारलाई समर्थन नगर्ने हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बसुमाया तामाङ र स्वतन्त्र उम्मेदवार काप्रीको पक्षमा मत गएमा यो क्षेत्र नेकपा एमालेको लागि सहज वन्नेछ ।