रुबी भ्यालीमा छायांकन गरिएको‘नीरफूल’जेठ १९ गते रिलिज हुने

351 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको रुवीभ्यालीलाई मुख्य क्षेत्र बनाएर सुटिङ गरिएको ‘नीरफूल’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको संघर्ष कथा देख्न सकिन्छ ।कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ ।०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण फिल्महल बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो ।

भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेका प्रयत्नमा आधारित सो फिल्म फूलमान वलले निर्देशन गरेका हुन् । रुबिभ्याली र काठमाडौँमा छायाङ्कन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छयोइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतले अभिनय गर्नुभएको छ । फिल्ममा म्यान्मारका तत्कालीन राजदूत ऊ लिउन उ र अभिनेत्री रेखा थापालाई विशेष भूमिकामा हेर्न सकिन्छ ।

२०७२ को महाभूकम्प र ‘ङ्खयामिली मिसिङ’ कथावस्तु समेटिएको चलचित्रको गीतमा राजेश पायल राईको स्वर र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

पटकथा लेखकसमेत रहेका निर्देशक वलले चलचित्रलाई भूकम्पले भत्काएको सम्बन्ध जोड्न गरिएको प्रयत्न रहेको बताए । ‘कन्टेन्ट प्रधान’ चलचित्र भएकाले ‘नीरफूल’लाई दर्शकले रुचाउने उनको विश्वास छ । चलचित्र धादिङ रुवीभ्याली, रसुवा स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको हो ।

सचिन घिमिरे एसोसियट निर्देशक रहेको चलचित्र प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।