गल्छीमा सरकारी क्याम्पस भवनमा निजी विद्यालय चलाएको भन्दै परेको रिट उच्च अदालतबाट खारेज

380 पटक पढिएको

सम्पादक: Dhading News

गल्छी (धादिङ) २५ पुस २०८१ । धादिङको गल्छीमा रहेको नमूना वागेश्वरी क्याम्पसको भवन निजी बिद्यालय सञ्चालन गर्न भाडामा दिएको भन्दै परेको रिट उच्च अदालत पाटनले २०८१ पुस २४ गते बुधबार खारेज गरिदिएको छ ।

उच्च अदालतका न्यायधिशद्धय मुनेन्द्रप्रसाद अवस्थी र टिकाराम आचार्यको संयुक्त इजलासले क्याम्पस बिरुद्ध दायर भएको रिट खारेज गर्दै क्याम्पसले आफ्नो पठनपाठन नरोकि निजी विद्यालयलाई भवन भाडामा दिन पाउने फैसला गरेको हो ।

राजमार्ग विस्तारका कारण बिद्यालय रहेको ठाउँमा पठन पाठनमा अवरोध आउने भएपछि धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनी वजारमा रहेको दि राईजिङ भिलेज आवासीय माविले २०८० मंसिर १० गते ५ बर्षका लागि नमूना वागेश्वरी क्याम्पसको डल्टार स्थित भवन भाडामा लिएको थियो ।

क्याम्पसको भवन निजी विद्यालयलाई भाडामा दिएर सरकारी सम्पत्तिको दुरुपयोग गरेको भन्दै गल्छी गाउँपालिका वडा नम्बर ३ का विबेक आचार्यले २०८१ कात्तिक १४ गते उच्च अदालत पाटनमा सम्झौता खारेजीको माग गर्दै रिट दायर गरेका थिए ।

आचार्यले क्याम्पस संचालक समिति अध्यक्ष रेशमराज खतिवडा, तत्कालिन क्याम्पस प्रमुख वलराम खतिवडा, दि राईजिङ भिलेज आवासिय मावि,गल्छी गाउँपालिका,त्रिभुवन विश्व विद्यालय र शिक्षा मन्त्रालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए । आचार्यको रिट माथि सुनुवाई गर्दै न्यायधिश टंकप्रसाद गुरुङ र कैलाशप्रसाद सुवेदीको इजलासले २०८१ कात्तिक ३० गते अन्तरिम आदेश गर्नुनपर्ने फैसला गरेको थियो ।

राईजिङ भिजेलले बार्षिक बार्षिक ६ लाख २४ हजार भाडा तिर्ने गरी क्याम्पसको २६ मध्ये २३ वटा कोठा भाडामा लिएको छ । भवन भाडामा लिने दिने बिषयमा २०८० मंसिर १० गते क्याम्पस प्रशासन र राईजिङ भिजेल बिद्यालय बिच लिखित सहमती भएको थियो ।

भवनमा क्याम्पसको पठनपाठन बिहान ६ वजे देखि १० वजे सम्म संचालन गर्ने र १० वजे पछि विद्यालयको पढाई हुने सहमती भएको र सोही अनुसार संचालन भईरहेको क्याम्पस संचालक समितिका अध्यक्ष रेशमराज खतिवडाले जानकारी दिए ।

फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको क्याम्पस प्रमुख राजुराज रिमालले जानकारी दिनु भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *