धादिङका १४ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

128 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ,८ माघ २०८१ । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि धादिङका १४ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । आगामी माघ २२ देखि सात दिनसम्म सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो ।

विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर श्याम पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाईनेछ ।

जिल्लाका २ सय ४० विद्यालय खोप केन्द्र र ९६ स्वास्थ्य संस्थाका खोप केन्द्र गरी ३३६ खोप केन्द्र मार्फत कक्षा ६ देखि १० सम्म अध्ययनरत १३ हजार ७९ छात्रा र विद्यालय नजाने ८ सय ९४ गरी १३ हजार ९ सय ७३ किशोरीलाई खोप लगाईने पोखरेलले बताउनुभयो ।

पोखरेलका अनुसार माघ २२ गतेदेखी २६ गतेसम्म नीलकण्ठ नगरपालिका, रुवीभ्याली, खनियावास, नेत्रावती डवजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा फागुन १ गतेदेखी ५ गतेसम्म धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालन हुनेछ ।

जिल्लामा १४ हजार ११३ एच.पि.भि. भायल, १५ हजार ५२४ ए.डि सिरिञ्ज (०.५ मि.लि) प्राप्त हुने खोप सुपरभाइजर पोखरेलले बताउनुभयो ।अभियानमा ३३६ जना स्वाथ्यकर्मी र ६७२ स्वयंमसेविका परिचालन हुने छन् ।

समयमै रोगको पहिचान र निदानका लागि पाठेघरको मुखको जाँच नियमित गराउनुपर्ने चिकित्सकहरुको भनाई छ । ३० वर्षमाथिका महिलाले पाँच–पाँच वर्षमा र एचआइभी सङ्क्रमित महिलाले हरेक तीन वर्षमा पाठेघरको मुखको नियमित जाँच गराउनु पर्ने चिकित्सकहरुको सुझाव छ ।

नेपालमा गरिएका विभिन्न अध्ययनले क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाएका छन् । त्यसमा पनि महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा धेरै हुने गरेको पाइएको छ । ‘एचपिभी’ भाइरस मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कका क्रममा सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, श्लेष्म झिल्ली वा तरल पदार्थको सम्पर्कमार्फत सर्ने गरेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *