आज बिद्याकी देवी सरस्वतीको पूजाअर्चना गर्दै श्रीपञ्चमी (बसन्त पञ्चमी) मनाइँदै
38 पटक पढिएको
धादिङ,२१ माघ २०८१ । बिद्याकीदेवी सरस्वतीको पूजाअर्चना गर्दै आज सोमबार श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ ।
बसन्त पञ्चमीका नामबाट पनि चिनिने पर्वमा विणा र पुस्तक लिएकी विद्यादेवी सरस्वतीको पूजा गर्ने परम्परा छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिएको हो ।
यसैगरी, श्रीपञ्चमीको दिन बालबालिकालाई अक्षराम्भ पनि गराउने चलन छ । आजकै दिन केटाकेटीको नाककान छेड्नका लागि पनि उत्तम दिनका रूपमा लिइने गरिन्छ ।
यसदिन साहित्यकार, कलाकार, संगीतकर्मी, पत्रकार, शिक्षकले कला साधनाका वस्तु पूजा गर्दछन् । यसदिन उपत्यकालगायत देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्नेगर्छ ।
शुभकार्यका लागि आज साइत हेर्न नपर्ने पवित्र दिनका रूपमा समेत लिने गरिन्छ ।
ऋग्वेदमा ब्रह्माणीलाई वाग्देवीका नामले चिनिन्छ । काठमाडौं उपत्यकाका स्वयम्भू मैतीदेवी र गैह्रीधारास्थित नील सरस्वती, ललितपुर लेलेलगायत विभिन्न जिल्लामा रहेका सरस्वती मन्दिरमा पञ्चमी बिहानैदेखि पूजाआजा गर्नेको घुइँचो लाग्ने गरेको छ ।
सरस्वतीलाई चढाइएको सात गेंडा अक्षता निलेमा विद्या–बुद्धि बढ्ने र चेतनाको ज्योति पाइने धार्मिक विश्वास छ । यसैगरी पञ्चमीका दिन काठमाडौं हनुमानढोकास्थित नासलचोकमा पुरोहितबाट विधिपूर्वक कथा बाचन गरी वसन्त श्रवण गर्ने प्रचलन छ ।