धादिङमा दुई दिनमा ६ हजार ३ सय ७८ किशोरीले लगाए पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप

202 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ, २४ माघ २०८१ । अभियानको रुपमा देशभर सञ्चालन भईरहेको पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप धादिङका ६ हजार भन्दा बढी किशोरीले लगाएका छन् । पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित राख्ने उद्देश्यले १० देखि १४ वर्षका किशोरीहरुलाई माघ २२ गतेदेखि खोप लगाउन लागिएको हो ।

धादिङको १३ मध्ये पहिलो चरणमा ८ स्थानीय तहमा खोप अभियान सञ्चालन भईरहेको छ । माघ २२ गतेदेखि धादिङमा जिल्लाको नीलकण्ठ नगरपालिका,रुवीभ्याली, खनियाबास,नेत्रावतीडवजोङ, गंगाजमुना,त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन भईरहेको छ ।
अभियान अन्तर्गत दुई दिनमा नीलकण्ठमा २२९२,रुवीभ्यालीमा ३६०,खनियाबासमा ४५४,नेत्रावतीमा ३३५,गंगाजमुनामा ५४१, त्रिपुरासुन्दरुमा ७७७,ज्वालामुखीमा ७२९ र सिद्धलेक गाउँपालिकामा ८९० जनाले खोप लगाएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

किशोरीहरुलाई भविष्यमा पाठेघरको मुखको क्यान्सर हुनबाट रोक्न र अकालमा मृत्यु हुनबाट जोगाउन सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म देशै भर पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्याभिलोमा भाईरस (एचपिभि) खोप दिन दिन शुरु गरेको हो ।

धादिङमा १३ हजार ९ सय ७३ किशोरीलाई खोप लगाईने लक्ष्य राखिएको जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर श्याम पोखरेलले बताए । उनका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाईदैछ । जिल्लाका २ सय ४० विद्यालय खोप केन्द्र र ९६ स्वास्थ्य संस्थाका खोप केन्द्र गरी ३३६ खोप केन्द्र मार्फत १४ हजार ५ सय ७३ किशोरीलाई खोप लगाईने पोखरेलले बताए ।

खोप अभियान दुई चरणमा गरिने छ । माघ २२ गतेदेखी २६ गतेसम्म नीलकण्ठ नगरपालिका, रुवीभ्याली, खनियावास, नेत्रावती डवजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा फागुन १ गतेदेखी ५ गतेसम्म धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालन हुनेछ । जिल्लामा १४ हजार ११३ एच।पि।भि। भायल, १५ हजार ५२४ ए.डि सिरिञ्ज ९०.५ मि.लि० प्राप्त हुने खोप सुपरभाइजर पोखरेलले जानकारी दिए ।

अभियानमा ३३६ जना स्वाथ्यकर्मी र ६७२ स्वयंमसेविका परिचालन हुने छन् । सरकारले पाठेघरको मुखको क्यान्सरबाट बचाउन देशभर करिब १७ लाख किशोरीलाई निशुल्क खोप दिन लागेको हो । खोप सातवटै प्रदेशमा पठाइएको परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *