विशेषज्ञ सेवा विस्तार सँगै जिल्लाकै सुविधा सम्पन्न अस्पतालको रूप लिँदै धादिङ अस्पताल

80 पटक पढिएको

सम्पादक: Dhading News

  • धादिङ न्यूज समाचारदाता

धादिङ, ८ कात्तिक : धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालले नियमित सेवासंगै विशेषज्ञ चिकित्सक सहितको सेवाहरु थप गरि विरामीको उपचारलाई अब्बल बनाउँदै लगेको छ ।  अस्पतालले न्यूनतम सेवा मापदण्डमा ८२ प्रतिशत अंक प्राप्त गरेको छ।

वि.स २०८० पौष ३ गतेदेखी एक सय शैयामा स्तरोन्नती भएपछि पहिलो पटक गरिएको न्यूनतम सेवा मापदण्डमा धादिङ अस्पतालले ८२ प्रतिशत अंक ल्याएको हो ।

शुक्रबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी न्यूनतम सेवा मापदण्डको विज्ञ समूहले अस्पतालको सेवा, प्रशासन र अतिरिक्त सेवाको बारेमा गरेको अनुगमनबाट अस्पतालले प्राप्त गरेको अंक सार्वजनिक गरिएको हो ।

वि.सं २०३३ मंसिर २६ गते धादिङ हेल्थ सेन्टरको रुपमा स्थापना भएको धादिङ अस्पताल वि.सं २०४५ सालमा १५ शैयया, वि.सं २०७६ मा ५० शैयया र वि.सं २०८० पौष ३ गते सय शैययामा स्तरोन्नति भएको थियो । अस्पताललाई ५० शय्याबाट २०८० मा १०० शय्याको बनाए संगै बिशेषज्ञ चिकित्सकहरुको सेवा पनि थपिदै गएको हो ।

मूल्याङ्कन टोलीका डा.नवीन दर्नालका अनुसार मापदण्डको प्रकृतिको आधारमा बागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले सुशासन तथा व्यवस्थापन, क्लिनिकल सेवा, र सहयोगी सेवाको विभिन्न सूचकहरुलाई आधार मानेर मूल्याङ्कन गर्दा धादिङ अस्पतालले ८२ अंक प्राप्त गरेको हो।

अस्पतालले हाल आइसीयु, हेमोडायलाइसिस, आकस्मिक, ओपिडी,प्रसूति, शल्यक्रिया, फिजियोथेरापी, प्रयोगशाला, फार्मेसी, एक्सरे, भिडियो एक्सरे, एआटी, ओसिएमसी, एसएनसियु सेवा सञ्चालन गरिरहेको छ । साथै अस्पतालमा नयाँ सेवाको रुपमा थाईराईड फङ्सन टेस्ट,हाडजोर्नी,एपेन्डिसाईटिस र हर्नियाको उपचार शुरु गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका निमित्त निर्देशक डा.गगन अधिकारीका अनुसार अस्पतालमा बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसुति रोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन र एमडीजीपी सहितिको विशेषज्ञ ओपिडी सेवा पनि सञ्चालनमा रहेको छ ।

धादिङ अस्पतालमा १५ जना विशेषज्ञ चिकित्सक, २५ जना मेडिकल अधिकृत सहित १५० जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु कार्यरत छन् ।

अस्पतालले सामाजिक सेवा इकाई मार्फत विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका र दुर्घटनामा परेका व्यक्तिहरुलाई निशुल्क तथा आंसिक छुटमा उपचार सेवा दिंदै आईरहेको निमित्त निर्देशक डा अधिकारीले बताउनुभयो ।

अस्पतालमा नभएको विशेषज्ञ सेवाहरु मुटुरोग,नाक, कान, घाँटी, डर्माटोलोजी लगायतका सेवाका लागि संघीय अस्पताल र बिशेषज्ञ चिकित्सकहरुसँग समन्वय र सम्झौता गरी सेवा प्रवाह भईरहेकोे डा अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालले गत आर्थिक वर्षमा मुख्यमन्त्री जनता सवस्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरी ९५६ जनाको नसर्ने रोगहरुको निशुल्क परीक्षण पनि गरेको थियो।
स्तन क्यान्सरको परीक्षण गर्न मेमोग्राम मेसिनको व्यवस्थापन गरी स्तन क्यान्सरको परीक्षण सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

अस्पतालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरी यसै आर्थिक वर्षदेखि प्रतिष्ठानले रेजिडेन्ट विशेषज्ञ चिकित्सा सेवा थालेको छ ।

अस्पतालले विशेषज्ञ चिकित्सक सहितको सेवाहरु दिन थालेपछि सदरमुकाम र जिल्लाको मध्य र उत्तरी भेगका विरामीलाई प्रत्यक्ष सुविधा पुगेको छ । थप सेवाहरु विस्तार हुदैं गएपछि काठमाण्डौ,चितवन सम्म धाएर उपचार लिनु पर्ने बाध्यताको अन्त्य भए संगै सेवाग्राहीहरु लाभान्वित भएका हुन ।

अस्पतालको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा बिरामीको संख्या २६ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८० मा ९१ हजार ८४८ बिरामीले ओपिडी, आकस्मिक तथा भर्ना भएर उपचार सेवा लिएका थिए भने आर्थिक वर्ष २०८०/८१ मा १ लाख १५ हजार ९६१ जनाले सेवा लिएको अस्पतालको तथ्यांक छ । अस्पतालको तथ्यांक हेर्दा २०७९/८० मा ६४ हजार २३५ जनाले ओपिडी,१५ हजार ९० जनाले आकस्मिक र २ हजार ५२३ जना भर्ना भएर उपचार सेवा लिएका थिए।

सेवा लिएकोमा गत आर्थिक वर्षमा ओपिडी सेवा लिनेको संख्या क्रमश ९३ हजार ९५१ जनाले ओपिडी, १८ हजार ६९२ आकस्मिक र भर्ना हुनेको संख्या ३ हजार २२८ जना रहेको छ ।

अस्पतालमा विशेषज्ञ सेवा विस्तार हुँदै गएपछि बिरामीहरुले यहीबाट धेरै किसिमका सेवा पाइरहेका छन् । अस्पतालको शय्या, विशेषज्ञ सेवा विस्तार भएसँगै बिरामीको चाप पनि बढ्दै गएको छ । गाउँमै बिशेषज्ञ चिकित्सकबाट सेवा लिन पाउने भएपछि विरामीलाई सुविधा पुगेको छ भने उपचारमा लाग्ने खर्च र समय समेत बचेको स्थानीयहरुको भनाई छ ।

अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरिय बनाउन अस्पतालको नयाँ भवन बनाउन डिपिआर तयार गरेको छ । चालु आर्थिक वर्षमा अस्पताल भवन निर्माण सुरु गर्न बागमती प्रदेश सरकारले ३ करोड रकम विनियोजन समेत गरिसकेको छ।


One thought on “विशेषज्ञ सेवा विस्तार सँगै जिल्लाकै सुविधा सम्पन्न अस्पतालको रूप लिँदै धादिङ अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *