सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रपुर अस्पतालले दियो ५० हजार आर्थिक सहयोग
17 पटक पढिएको

रौतहट, २० फागुन । ब्रेन ट्युमर रोगबाट ग्रसित रौतहटका सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालीले ५० हजार आर्थिक सहयोग गरेको छ । सञ्चारकर्मी महत्त्वलाई सो अस्पतालले निःशुल्क सेवा समेत दिने बताइएको छ ।
मङ्गलबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका सञ्चालक डाक्टर सुवास चौधरीले सञ्चारकर्मी महतलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए । विगत लामो समयदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित सञ्चारकर्मी महतलाई अस्पतालले अस्पतालबाट हुने सेवा निःशुल्क रुपमा प्रदान गर्ने डाक्टर चौधरीले जानकारी दिएका थिए ।
अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको एक दिनको तलब बापतको रकम सञ्चारकर्मी महतको उपचारमा सहयोग पुगोस् भन्ने हिसाबले आफूहरुले प्रदान गरेको अस्पतालका डाक्टर चौधरीको भनाइ रहेको छ । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजयकुमार कार्कीले सञ्चारकर्मी महतको उपचारमा सबैले सहयोग गरिदिन आग्रह गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा रौतहटका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
आर्थिक रूपमा विपन्न रहेका सञ्चारकर्मी महत विगत लामो समयदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका छन् । रौतहट जिल्लालाई कार्यक्षेत्र बनाएर विगत दुई दशकभन्दा बढी समयदेखि सञ्चारकर्मी महतले विभिन्न संचार माध्यममा काम गरिसकेका छन् ।