रविलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासकाे आदेश
285 पटक पढिएको
काठमाडौं, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ।
उच्च अदालत बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।
जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार थुनामा पठाउने आदेश गरेको हो ।
बुटवल उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको केही समय पछि सो आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो भने लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो । सो आदेशविरुद्ध दुवै जना उच्च गएका थिए ।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार यसअघि जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्न दिएको आदेश उच्च अदालतले बदर गरेको छ।
सरकारी वकिलले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएको थियो।
अब रवि लामिछानेले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा अदालतमा निवेदन दिन सक्ने कुँवरले बताएका छन्।
तर वरिष्ठ अधिवक्ता महेन्द्र पाण्डेका अनुसार रवि लामिछानेले थुनामै बसेर निवदेन दिनुपर्ने हुन्छ।







