सञ्चारीका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित उम्मेदवारी दिएकै कारण चारजना पत्रकारलाई पार्टी सदस्यबाट हटाउन प्रेस चौतारीको विज्ञप्ति
264 पटक पढिएको
काठमाडौं, ६ बैशाख । सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी १४९ मतसहित निर्वाचित भएकी छिन् । उनकी अध्यक्ष पदकी प्रतिद्वन्द्वी पवित्रा सुनुवारले ८७ मत ल्याएकी छिन्।
प्रमुख निर्वाचन अधिकृत शिव गाउँलेका अनुसार उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ निर्वाचित भएका छन्। महासचिवबाहेक सबै पदमा निर्वाचन भएको हो । राधा खनाल भने सर्वसम्मत महासचिव बनेकी हुन्।
त्यसैगरी सदस्यमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजवी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन्।
यसै बिच सञ्चारिका समूहको नेतृत्व चयन हुनका लागि उम्मेदवारी दिएको भन्दै नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले चार सदस्यमाथि कारबाही गरेको छ ।
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव लोग्शरी कुँवरसहित पूर्वकेन्द्रीय सदस्य पवित्रा सुनार केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोगका सदस्य दीपा रेग्मीलाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।







