श्रीमती र छोरालाई अलपत्र पारेर भागेका धादिङ मलेखुका युवक पक्राउ
527 पटक पढिएको
धादिङ । अन्तरजातीय बिवाह गरेर बच्चा जन्मिएपछि श्रीमती र बच्चालाई अलपत्र पारेर फरार भएको आरोपमा धादिङको गजुरी घर भएका एक युवकलाई प्रहरीले पक्राउ गरेर गोरखा लगेको छ ।
धादिङ जिल्लाको गजुरी गाउँपालिका २, मलेखु घर भएका २२ वर्षीय मिलन श्रेष्ठलाई धादिङको गजुरी गाउँपालिका ६ को राम्चेबाट पक्राउ गरेर प्रहरीले गोरखा लगेको हो ।
गोरखा प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठले गोरखाको शहिदलखन गाउँपालिका १, बक्राङ माइती भएकी मनिका परियारसँग अन्तरजातिय विवाह गरेका थिए । तर, विवाहपश्चात् गर्भवती भएपछि पत्नी दलित समुदायकी भएको भन्दै निरन्तर हेला–होचो गर्नुका साथै विभेद गरेर फरार भएका थिए ।
मनिकाले केही महिना अगाडी मात्रै छोरा जन्माएकी थिइन । बिवाह र जन्मदर्ता समेत नगरेर फरार भएका युवकलाई गोरखा प्रहरीले धादिङ प्रहरीको समन्वयमा हालै पक्राउ गरी गोरखा लगेको हो ।
प्रहरीले पक्राउ परेका युवक बिरुद्ध जातीय विभेद शिर्षकमा मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले बताउनु भयो ।
पीडित परियारले न्याय माग्दै जिल्ला प्रहरी कार्यालय गोरखामा केही समय अगाडी जाहेरी दर्ता गरेको थियो । सोही उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको डिएसपी सुवेदीले जानकारी दिनुभयो ।
प्रनाउ सुवेदीका अनुसार श्रेष्ठलाई भदौ ८ गते आइतबार पक्राउ गरेर गोरखा लगिएको हो । पक्राउ परेका श्रेष्ठमाथि जिल्ला अदालत गोरखाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।







