डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक

589 पटक पढिएको

२० भाद्र २०८२, शुक्रबार २०:३७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । नेपाली साहित्यमा महाकाव्य लेखनलाई पुनर्जागरणको अवस्थामा पुर्‍याएका कवि डा. नवराज लम्सालको चौथो महाकाव्य “कल्प” शुक्रबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा सांसदहरू गगन थापा, विद्या भट्टराई,  सुदन किराँती, सांसद मनिष झा, समीक्षक राजकुमार बानियाँ र लेखक स्वयं उपस्थित भई संयुक्त रूपमा कृति सार्वजनिक गरेका थिए।

यसअघि ‘कर्ण’, ‘धारा’ र ‘अग्नि’ नामक तीन महाकाव्य प्रकाशित गरिसकेका लम्सालको यो नयाँ कृतिलाई पाठक र साहित्यिक वृत्तमा निकै प्रतीक्षासहित हेरिएको थियो। अग्नि महाकाव्यका लागि उनले २०७८ सालमा प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेका थिए। रेडियो नेपालमा ३० वर्ष र बीबीसीमा १० वर्ष काम गरेपछि पूर्ण रूपमा साहित्यिक यात्रामा समर्पित भएका लम्सालले यस महाकाव्यलाई आफ्नो ‘मस्तिष्क निचोरिएको’ कृति भनेका छन्।

 साहित्यकारहरूमाझको चर्चा

विमोचन समारोहमा बोल्दै कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले लम्साललाई २०६२/०६३ को जनआन्दोलन यताका केन्द्रीय साहित्यिक व्यक्तित्वका रूपमा व्याख्या गर्दै नवराज लम्सालको प्रतिष्पर्धा नवराज लम्सालसँग मात्र भएको  टिप्पणी गरे। “कुनै दलको झण्डा नबोके पनि कुनै दलका नेताभन्दा कम राजनीतिक चेतना लम्सालसँग छैन। यही चेतना उनका काव्यहरूमा प्रष्ट झल्किन्छ,” थापाले भने।

एमाले नेतृ तथा पूर्वमन्त्री विद्या भट्टराईले कल्प पढेपछि कविको वैचारिक धरातल निकै गहिरो भएको महसुस गरेको बताइन्। उनका अनुसार लम्सालले विश्वदृष्टिलाई सरल तर प्रभावकारी भाषामा प्रस्तुत गर्ने क्षमता हासिल गरेका छन्।

नेकपा (माओवादी) का नेता तथा पूर्वमन्त्री सुदन किराँतीले लम्साललाई सिमान्तकृत समुदाय, आदिवासी, महिला र मधेशी समाजका सांस्कृतिक विम्व र पहिचानका संवेदनशील प्रतिनिधि लेखकका रूपमा चित्रित गरे। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले लम्सालले मधेशी समाज र मौन गरिएका जनताको आवाजलाई कवितामा उतारेको भन्दै उनको लेखनले देशलाई जोड्ने काम गरेको बताए।

समीक्षक राजकुमार बानियाँले विश्वका ख्यातिप्राप्त महाकाव्यहरूको सन्दर्भ दिँदै नेपाली भाषामा कल्प जस्तो उच्चस्तरीय महाकाव्य लेखिनु सम्पूर्ण नेपाली साहित्यकै गौरव भएको अभिव्यक्ति दिए। उनका अनुसार लम्सालले महाकाव्य लेखनमा आवश्यक चिन्तन, गहिराइ र बौद्धिकताको सीमा पार गरेका छन्।

 प्रकाशन र कृतिहरू

कल्प शिखा बुक्सले प्रकाशन गरेको हो। प्रकाशक पुष्पराज पौडेलले पुस्तक देशका प्रमुख सहरहरूमा उपलब्ध भइसकेको जनाउँदै यसलाई प्रकाशन गर्न पाउनु आफूहरूको प्रकाशन गृहका लागि सौभाग्य भएको बताए। यसअघि लम्सालको कर्ण को चौथो संस्करण पनि बजारमा आइसकेको छ।

डा. नवराज लम्सालका हालसम्म ४ महाकाव्य (कर्ण, धारा, अग्नि र कल्प), ३ कविता संग्रह र २ गीत संग्रहसहित ९ पुस्तक प्रकाशित भइसकेका छन्। उनी अध्ययनशील, गम्भीर तथा पूर्वीय दर्शनमा गहिरो ज्ञान राख्ने साहित्यकारका रूपमा परिचित छन्। नेपाली रेडियो प्रसारणको इतिहासमा पनि लम्साललाई एक महत्त्वपूर्ण स्तम्भ मानिन्छ।

 समग्र मूल्याङ्कन

साहित्यकार, समीक्षक र राजनीतिक नेताहरूको साझा मूल्याङ्कन अनुसार कल्प केवल एक महाकाव्य नभई समकालीन नेपाली समाज, सांस्कृतिक विविधता, राजनीतिक चेतना र विश्वदृष्टिको संगमका रूपमा प्रस्तुत भएको छ। यसले नेपाली भाषाको साहित्यिक गौरवलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ।