सरकारको दमनविरुद्ध आवाज उठाउँदै मन्त्री पदबाट रामनाथ अधिकारीले दिए राजीनामा

496 पटक पढिएको

२४ भाद्र २०८२, मंगलवार १०:४७ सम्पादक: धादिङ न्यूज

काठमाडौं, २४ भदौ –कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मंगलबारमन्त्री पदबाट राजीनामा दिएका छन् । सरकारद्वारा जेन्जी  आन्दोलनमाथि गरिएको बल प्रयोग, दमन र अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशको विरोध गर्दै मन्त्री अधिकारीले पदबाट राजिनामा दिएका हुन् ।

धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित अधिकारीले राजीनामा पत्रमा उल्लेख गरेका छन्-

“सानासाना बालबालिकासमेतको हत्या र जनदमनपछि सत्तामा बस्न मेरो नैतिकता र चेतनाले अनुमति दिएन। सरकारको अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै राजीनामा दिएको छु।”

“हिजो २०८२ भाद्र २३ गते हाम्रो छोराछोरी पुस्ताले काठमाडौं र देशका विभिन्न स्थानमा मुलुकभित्र व्याप्त भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भईरहेको हो कि भनी म झस्किएको छु। देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन। स-साना कलिला छोराछोरीहरुको हत्या र दमन पश्चात देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।”

भाद्र २३ गते जेन्जी  आन्दोलनका क्रममा १९ जनाको ज्यान गएको थियो। सामाजिक सञ्जाल प्रतिबन्ध, भ्रष्टाचारविरुद्धको जनआक्रोश र शान्तिपूर्ण आन्दोलनमा सुरक्षाकर्मीले गोली चलाएपछि देशव्यापी आक्रोश चुलिएको छ।

गृह मन्त्री रमेशकुमार लेखकले पनि आइतवार नै पदबाट राजीनामा दिइसकेका छन्।

नेपाली कांग्रेसभित्रैबाट आएको यो कदमले सत्तापक्षलाई थप दबाबमा पारेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चर्को आलोचनाको सामना गरिरहेको छ।

सरकारले फेसबुक, युट्युब, एक्स (पूर्व ट्विटर) लगायत २६ सामाजिक सञ्जालमाथिको प्रतिबन्धले युवापुस्तामा तीव्र आक्रोश फैलिएको थियो।