धादिङमा जिल्लाभर दिउँसो १२ वजे देखि निषेधाज्ञा जारी रिहाईको माग राख्दै कारागार भित्र प्रदर्शन, सुरक्षा व्यवस्था कडा पारियो

518 पटक पढिएको

२५ भाद्र २०८२, बुधबार १२:१५ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधवार दिउँसो १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ (संशोधनसहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीद्वारा जारी आदेशमा निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ । यसैगरी अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले यस आदेशको पालना नगर्ने वा अवरोध पुर्‍याउने जोकोहीलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिएको छ ।

रिहाईको माग राख्दै कारागार भित्र प्रदर्शन

यसै बिच जिल्ला कारागारमा रहेका कैन्दी वन्दीले आंफुहरुलाई रिहाई गर्नु पर्ने माग राख्दै कारागार भित्र नाराजुलस गर्न थाले पछि नेपाली सेना सहितको सुरक्षाटोली कारागारमा परिचालन गरिएको छ । प्रदर्शनमा उत्रिएकाहरुले देशभरका कारगारबाट कैदी वन्दी रिहा भएको रवि लामिछानेलाई छोडिएको भन्दै आंफुहरु पनि छुट्न पाउनु पर्ने माग राखेका छन् । प्रदर्शनकारीलाई संयमित हुन सुरक्षा फौजले आग्रह गरेको छ ।

कारागार भित्रबाट निस्किएको धुंवाको मुस्लो धेरै पर सम्म देखिएको थियो । कैदी वन्दीले आगजनी गरेर कारागारबाट भाग्ने प्रयास गरेपछि त्यहाँ नेपाली सेना सहितको सुरक्षाकर्मी पुगेको थियो ।

त्यसै गरी देशका कतिपय कारागारबाट कैदी बन्दी भागेपछि धादिङमा पनि कारागार कार्यालय आक्रमण गर्ने भन्दै केही युवाद्वारा बीचबजार चोकमा खुकुरी सहित निस्किएर स्थानीयलाई आतङ्कित बनाउने प्रयास गरेपछि हतियार सहितको एउटा स्कुटर  सुरक्षा फौजले नियन्त्रणमा लिएको छ भने हतियार प्रदर्शन गर्ने व्यक्ति फरार भएका छन् ।