संविधानमा न्यून क्षती हुने गरी अन्तरिम सरकार गठन गर्ने तयारीमा राष्ट्रपति
251 पटक पढिएको
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने तयारीमा रहेको संकेत दिएका छन्।
स्रोतका अनुसार राष्ट्रपतिले सभामुख देवराज घिमिरेमार्फत कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई सन्देश पठाएका छन्। त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपमहासचिव वर्षमान पुनको समन्वयमा टेलिफोन वार्ता भएको छ। कांग्रेस तर्फ उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मामार्फत सभापति शेरबहादुर देउवालाई पनि जानकारी दिइएको छ।
यसअघि जेन–जी समूहले भर्चुअल मतदानमार्फत कार्कीलाई अन्तरिम सरकारको प्रमुखका रूपमा अघि सारेको थियो। काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले पनि समर्थन जनाएका थिए। तर शाहले संसद् विघटन र संवैधानिक निकायका पदाधिकारीको नियुक्ति खारेजी हुनुपर्ने सर्त राखेका छन्।
विहीबार शीतलनिवासमा भएको छलफलमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सुशीला कार्की र कानुनविद् ओमप्रकाश अर्याललगायत सहभागी थिए। यसअघि प्रधानसेनापति सिग्देलले जेन–जी आन्दोलनमा सक्रिय विभिन्न समूहका प्रतिनिधि, हर्क साम्पाङ र दुर्गा प्रसाईंसँग वार्ता गरेका थिए।
राष्ट्रपतिले संविधानविद्हरू – सूर्य ढुंगेल, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, भीमार्जन आचार्य र ललित बस्नेतसँग पनि परामर्श गरेका थिए। छलफलमा संकटको निकास दिन संविधानमा न्यून क्षति पुर्याउने विकल्प राष्ट्रपति मातहतै हुने निष्कर्ष निकालिएको स्रोतले जनाएको छ।
जेनजी र बालेनका तर्फबाट संसद विघटनको बटमलाइन प्रस्तुत भए पनि त्यसमा कुरा मिलेको छैन ।
स्रोतका अनुसार राष्ट्रपति पौडेलले कुनै हालतमा संसद विघटन नगर्ने अडान लिएका छन् । कांग्रेस र एमालेको पनि लाइन यही छ ।
जेनजी र बालेनको तर्फबाट ओेमप्रकाश अर्यालले संसद तत्काल विघटन गरी नयाँ निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेको स्रोतको भनाइ छ । सभामुख देवराज घिमिरे पनि संसद विघटन नगर्ने पक्षमा छन् ।
अर्यालले भने संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था राख्नसमेत माग गरे । कांग्रेस र एमाले यसमा तयार छैनन् । माओवादी अध्यक्ष प्रचण्डले भने जेनजीका सबै माग स्वीकार गरेको बुझिएको छ ।
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनेमा सहमति जुटे पनि कुन विधिबाट भन्ने प्रष्ट भएको छैन ।







