सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री

393 पटक पढिएको

२७ भाद्र २०८२, शुक्रबार २०:५७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बनेकी छन्।

नेपालमा न्यायालय स्थापना भएको ६५ वर्षभन्दा लामो इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनी शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन्।

राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको सहमतिसँगै कार्कीले राति ९ बजे शपथग्रहण गर्ने कार्यक्रम छ। यससँगै उनी देशको पहिलो महिला नेतृत्वको रूपमा बागडोर सम्हाल्न पुगेकी छन्।

न्यायपालिकामा रहँदा हक्की र इमान्दार स्वभावका कारण चर्चित बनेकी कार्की प्रधानन्यायाधीशबाट अवकाश लिएपछि करिब आठ वर्षपछि कार्यपालिकाको नेतृत्व गर्न पुग्न लागेकी हुन्। यसरी उनले नेपालको पहिलो महिला सरकार प्रमुखको इतिहास समेत रचेकी छन्।

हालै सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको आन्दोलनपछि मुलुकका तीनवटै अङ्ग आन्तरिक संकटमा परेका थिए भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। प्रधानमन्त्रीको राजीनामालगत्तै राष्ट्रपति पौडेलले प्रधानसेनापतिसमेतको सहभागितामा नयाँ सरकार गठनको पहल गरेका थिए।

अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै कार्कीले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाबाट देशलाई अघि बढाउने र आगामी निर्वाचनपछि आउने नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी पाउनेछिन्।