सिद्धलेक गाउँपालिकामा गाउँसभाबाट पारित भएको वजेटमा ७ करोड हेरफेर गरेर आयो रातो किताव
677 पटक पढिएको
धादिङ । सिद्धलेक गाउँपालिकाको वार्षिक बजेटमा ७ करोड रुपैयाँको हेरफेर गरेर रातो किताव प्रकाशन गरिएको भन्दै कार्यपालिका सदस्य भगवती तिवारीले रातो किताव माथि सार्वजनिक प्रश्न उठाउनु भएको छ ।
२०८२ असार ५ गते सम्पन्न भएको सिद्धलेक गाउँपालिकाको १७ औं अधिबेशनमा उपाध्यक्ष सविता अर्यालले प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार गाउँपालिकाको कुल बजेट ६० करोड ५७ लाख ८४ हजार ९१४ थियो। तर गाउँपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०८२/८३ को योजना तथा वजेट उल्लेखित ‘रातो किताब’ मा भने ६७ करोड ५७ लाख ८४ हजार ९१४ रकम देखिएको छ। यसरी ७ करोड रुपैयाँको अन्तर देखिएपछि बजेट भाषण गर्ने उपाध्यक्ष सविता अर्यालले यस बिषयमा कुनै जानकारी नभएको प्रतिकृया दिदै रातो किताव कस्ले कहाँ लगेर प्रकाशन गर्छ भन्ने वारेमा आंफुलाई अहिले सम्म कुनै जानकारी नभएको समेत खुलासा गर्नु भएको छ ।
गाउँसभाबाट पारित भएको भन्दा ७ करोड बढी वजेट रातो कितावमा समावेश हुँदा गाउँपालिका अध्यक्षले कुनै जानकारी नदिएको कार्यपालिका सदस्य भगवती अर्यालको भनाई छ । रातो किताव छापिंदा त्रुटी भएको हो या गाउँसभामा वजेट लुकाएर रातो कितावमा राखिएको हो भन्ने केही खुल्न नसकेको कार्यपालिका सदस्य तिवारीको जिज्ञासा छ ।
विकास योजना,बजेटमा पारदर्शिता एवम् जवाफदेहिता हुनुपर्ने र यस्का लागि गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार भएर त्रुटी कहाँ भएको हो सार्वजनिक गर्नुपर्ने कार्यपालिका सदस्य तिवारी बताउनुहुन्छ ।
गाउँसभाले पारित गरेको भन्दा फरक अंकमा बजेट राख्नु्पर्दा कार्यपालिकासंग परामर्श गरी ठोस निर्णय लिनुपर्नेमा अध्यक्षले एकलौटी ढंगले बजेट थपेर रातो किताव प्रकाशित गरेकाले यस बिषयमा सबैपक्ष गम्भिर हुनुपर्ने कार्यपालिका सदस्य तिवारी भनाई छ ।
रातो कितावको वारेमा सोध्न अध्यक्ष परशुराम खतिवडालाई फोन गर्दा नउठाएको,विहीवार कार्यालयमा गएर दिनभर कुर्दा पनि नभेटिएको र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले पनि कितावमा वजेट थपिएर आएको बारेमा आंफु अनभिज्ञ रहेको जवाफ दिएकाले थप अन्यौल उत्पन्न भएको भगवतीको भनाई छ । उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत दुवै जनाबाट थाहा छैन भन्ने जवाफ आउँछ, यस्तो अवस्थामा जनताले विश्वास कसरी गर्ने? भगवती बताउनुहुन्छ ।
गाउँपालिकाले कसका लागि, कहाँ र कस्तो खालका योजना ल्याएको हो भन्ने विषयमा समेत आम नागरिकले अध्ययन गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ। स्थानीयवासीहरूले विकासको नाममा हुने अनियमितता र अस्पष्टतालाई सच्याउन चेतावनी दिँदै “धिक्कार स्थानीय सरकार” भन्दै आक्रोश पोखेर भगवतीले सामाजिक सन्जालमा लेख्नु भएको छ ।
तत्कालिन केन्द्रिय सरकारको गठवन्धन अनुसार नेपाली काँग्रेस र नेकपा एमालेको पहलमा गाउँसभा सम्पन्न भएको थियो । विगतमा तोकिएको मितिमा बजेट ल्याउन नसक्ने गरेकोमा यसपटक भने निर्धारित मिति असार १० भन्दा पहिले नै बजेट ल्याएर सिद्धलेकले नयाँ उदाहरण प्रस्तुत गरेको भन्दै चर्चा समेत भएको थियो । दुई दलले सहमती गरेर विवादरहित गाउँसभा सम्पन्न गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।
यस अघि गजुरी गाउँपालिकाले यस्तै गरी गाउँसभाबाट पारित भएको भन्दा फरक रकम राखेर रातो किताव प्रकाशित गरेपछि अधिकांश गाउँसभा सदस्यले लिखित रुपमा असहमती जनाई विरोध गरेपछि अध्यक्ष गणेशलाल श्रेष्ठ गल्ती सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।










https://shorturl.fm/R20VU