आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिदै
249 पटक पढिएको
काठमाडौं । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना भइरहेको छ।
हरेक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गरिन्छ। घटस्थापनादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने परम्परा अनुसार आज भक्तजनले कुष्माण्डा देवीको पूजाअर्चना गर्दै शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास गरेका छन्।
नवरात्रमा दुर्गा सप्तशती (चण्डी), श्रीमद् देवीभागवत तथा विभिन्न देवी स्तोत्रको पाठसहित पूजा गरिन्छ। नवदुर्गाका नौ रूपमध्ये चौथो दिन कुष्माण्डा देवीको, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ।
देशभरका शक्तिपीठमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ। राजधानीका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत मन्दिरहरूमा दीपावली गरी विशेष सजावट गरिएको छ।
यसरी दुर्गा पक्षको पूजा विजयादशमी हुँदै कोजाग्रत पूर्णिमासम्म निरन्तर चल्छ र यसैलाई बडादशैं पर्वको धार्मिक आधार मानिन्छ।
दूर्गा कवच मन्त्र–
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाराधना गर्ने शास्त्रीय नियम छ । दुर्गापूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको बताइन्छ । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
दुर्गाको प्रतीकका रुपमा महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नौ कन्याको पूजासमेत गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्नेहरुले दशैंघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् । नवरात्रभर दुर्गासप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवीस्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ ।
बडादशैंको टीकाको शुभ साइत:
बडा दशैँको टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गर्दै टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे तोकिएको छ भने असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि र असोज १५ गते बुधवार महानवमी स्थिरासन बिहान ९: २३ बजे तोकिएको छ ।







