आज अक्टोबर १६नेपालसहित विश्वभर ४५औं विश्व खाद्य दिवस मनाइँदै

166 पटक पढिएको

३० आश्विन २०८२, बिहीबार १०:२८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । ४५औं विश्व खाद्य दिवस आज (अक्टोबर १६) नेपालसहित विश्वभर मनाइँदैछ । यस वर्षको दिवस “राम्रो खाना र राम्रो भविष्यका लागि सँगै हातेमालो गर्दै” भन्ने मूल नाराका साथ मनाइँदै विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

सन् १९७९ नोभेम्बरमा संयुक्त राष्ट्र सङ्घको २०औँ साधारण सभाले अन्न तथा कृषि सङ्गठन (एफएओ) स्थापना भएको दिनलाई खाद्य दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेअनुरूप सन् १९८१ देखि हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइँदै आएको हो ।

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार हाल विश्वमा करिब ७० करोडभन्दा बढी मानिस नियमितरूपमा पर्याप्त खाना खान पाउने अवस्थामा छैनन् । विशेषगरी बालबालिका र गर्भवती महिलामा कुपोषण गम्भीर समस्या बनेको छ । नाइजेरिया, सुडान, कङ्गो, सिरिया, यमन, इथियोपिया, म्यानमार, बङ्गलादेश, पाकिस्तान र अफगानिस्तानजस्ता मुलुकमा तीव्र भोकमरीको अवस्था रहेको छ ।

नेपालमा समेत खाद्य सुरक्षाको अवस्था चुनौतीपूर्ण रहँदै आएको छ । विशेषगरी पहाडी र हिमाली भेगका गाउँमा वर्षभरिका लागि अन्न पुग्दैन भने सहर क्षेत्रमा अत्यधिक प्रशोधित र पोषणहीन खाना खाने प्रवृत्तिले स्वास्थ्यमा समस्या बढाएको छ ।

सरकारले कृषि उत्पादन वृद्धि र खाद्य आत्मनिर्भरता लक्ष्यसहित नीति तथा योजना बनाए पनि कार्यान्वयन पक्ष अझै कमजोर रहेको विशेषज्ञहरूको भनाइ छ । किसानलाई आवश्यक मल, बीउ, सिंचाइ र बजारको सुनिश्चितता बिना खाद्य संकट समाधान कठिन देखिन्छ ।