असफल भयो मुख्य नेताहरुलाई जेल हाल्ने बालेनको योजना

220 पटक पढिएको

३० आश्विन २०८२, बिहीबार २१:०३ सम्पादक: धादिङ न्यूज

काठमाडौं, ३० असोज । गृह मन्त्री ओमप्रकाश अर्यालको निर्देशनमा सम्पत्ति शुद्धिकरणका प्रमुख कृष्णप्रसाद मैनाली र सिआईबी प्रमुख मनोज केसीले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, दिपक खड्का र गंगा दाहालको निवासमा अनुसन्धानको प्रयास गरे पनि आवश्यक प्रमाण फेला पार्न सकेनन्।

मैनालीले प्रमाणको अभावमा झूठो प्रतिवेदन बनाउन असमर्थ रहेको बताउँदै, “मुद्वा लगाउने प्रमाण हिजो भए पनि आज छैन। जलेर वा लुटपाट भइसकेकाले झुठो प्रतिवेदन बनाएर म मुद्वा चलाउन सक्दिनँ,” भनेका थिए। उनले ओलीको सम्पत्ति राष्ट्रियकरण भइसकेको र त्यसमा कानुन नै नहुँदा मुद्वा चलाउन सकिन्न भनेर स्पष्ट पारे। देउवा, प्रचण्ड, दिपक खड्का र गंगा दाहालसँग सम्बन्धित सम्पत्तिमा पनि प्रमाण नपुग्दा अनुसन्धान टोली रित्तै फर्किन बाध्य भयो।

तर पनि गृह मन्त्री अर्यालले मैनालीमाथि लगातार दबाब दिएका थिए। मैनालीले मालपोत कार्यालयहरू जलेका, प्रमाण संकलन गर्न समय लाग्ने र बैंकमा भएको पैसा मात्र तत्काल खोज्न सकिने बताए। उनका यी तर्कका बावजुद, सिआईबी टोलीलाई अर्को गोटी चलाउन लगाइएको थियो।

यस क्रममा भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित आरजु राणा र उनका परिवारका सदस्यहरूको घरमा छापा हानिए पनि कारबाहीका लागि पर्याप्त प्रमाण फेला परेन। ओली र प्रचण्डको घरबेटीसम्म पुगेर अनुसन्धानको प्रयास भए पनि प्रमाणको अभावमा कुनै कार्य अघि बढेन।

अन्ततः बालेनको निर्देशनमा मैनालीलाई हटाएर गजेन्द्र ठाकुरलाई जिम्मेवारी दिइएको छ, जसलाई राजनीतिक नेताहरूविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्वा तयार पारेर पक्राउ गर्न भनिएको थियो।

यो योजना मुख्य नेताहरूलाई फागुन २१ को चुनावमा भाग लिन नदिन केन्द्रित थियो। बालेनले तीन उपाय तय गरेका थिए-गौरीबहादुर कार्की आयोग प्रयोग गरेर अभियुक्त बनाउने, फौजदारी अभियोग लगाउने, र आवश्यक परे सर्वोच्च अदालत वा अध्यादेशमार्फत उम्मेद्वार हुन नदिने।

यद्यपि, प्रमुख राजनीतिक नेताहरूमा आवश्यक प्रमाण नपुगेका कारण योजना असफल भएको छ। समाचारअनुसार बालेनको दबाबमा सुशिला कार्की समेत झोक्किएकी छिन्, मुख्य कारण सुदन गुरूङको गैरकानुनी क्रियाकलाप रहेको जनाइएको छ।