आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै

221 पटक पढिएको

६ कार्तिक २०८२, बिहीबार ०७:१४ सम्पादक: धादिङ न्यूज

काठमाडौं, ६ कार्तिक २०८२ ।आज तिहारको मुख्य दिन भाइटीका मनाइँदैछ। दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका  लगाएर मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, तिहार पाँच दिनको पर्व भए पनि यस वर्ष तिथि वृद्धि भएर छैटौँ दिन भाइटीका परेको हो। आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्छन् र त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने परम्परा छ।

समितिले शुभ मुहूर्तको सल्लाह दिँदै, बिहान ११ः३९ बजे अभिजित् मुहूर्तमा टीका लगाउन उत्तम समय रहेको जनाएको छ। आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताए। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ। यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन्। शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ। शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ। दिदीबहिनीले तेलको धाराले छेकेर सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी फूलका माला लगाउने चलन रहेको छ।

टीका लगाएपछि दिदीबहिनीले ओखर, कटुस, मसला र सेलरोटी दिने चलन छ भने दाजुभाइले पनि सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिँदै सम्मान प्रकट गर्छन्।

शास्त्रीय मान्यता अनुसार, टीका लगाउँदा रातो, सेतो, पहेँलो, हरियो र नीलो पाँचवटा रङ्ग प्रयोग गर्ने चलन रहेको छ।

आजको दिन श्रद्धा, आस्था र पारिवारिक मिलनको पर्वको रूपमा मनाइँदैछ।