अमेरिकी डलर सटहीका नाममा ठगी गर्ने एक युवक धादिङमा पक्राउ
287 पटक पढिएको
धादिङ । अमेरिकी डलर सटही गरिदिने लोभ देखाएर आर्थिक ठगी गर्ने एक व्यक्ति धादिङमा पक्राउ परेका छन्। बुधबार धुनिबेशी नगरपालिका–६ बानियाटारस्थित गणेश मन्दिर नजिक ठगी गरी फरार भइरहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ खोलेखर्कका ३६ वर्षीय धनकाजी शिवभक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले पिडितलाई झुक्याई लिएको रकमसहित शिवभक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
शिवभक्तिले अमेरिकी डलर साट्दा धेरै मुनाफा लाग्ने प्रलोभन देखाई कपडाको पोका भित्र कागजका टुक्रा राखेर धुनिबेशीका एक स्थानीय पुरुषबाट २ लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ।
पक्राउ परेका शिवभक्तिलाई जिल्ला प्रहरी कार्यालय धादिङमा राखी ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको छ। यस सम्बन्धमा जिल्ला अदालत धादिङबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।
उनको साथबाट २ लाख ५० हजार नेपाली रुपैयाँ, २ थान मोबाइल, र अमेरिकी डलर भनी देखाइएका कागजका टुक्रा १ पोका बरामद गरिएको दाहालले बताए।
प्रहरीका अनुसार अमेरिकी डलर अवैध रूपमा साटिदिने प्रलोभन देखाई ठगी गर्ने समूह सक्रिय हुन सक्ने भएकाले यस्ता व्यक्तिबाट सावधान रहन तथा शंकास्पद गतिविधि देखेमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ।
–







