नेपाल पत्रकार महासंघ जापान शाखाको निर्वाचनमा धादिङका तीन पत्रकार उम्मेदवार

269 पटक पढिएको

६ मंसिर २०८२, शनिबार ०८:२७ सम्पादक: धादिङ न्यूज

धादिङ। नेपाल पत्रकार महासंघ, जापान शाखाको २०२५–२०२८ कार्यकालका लागि यही नोभेम्बर २३ तारिखमा हुन लागेको अधिवेशनमा धादिङका तीन पत्रकारले विभिन्न पदमा उम्मेदवारी दिएका छन्।

नेत्रावती डवजोङका राजन गौतमले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। गौतम हाल अन्तर्राष्ट्रिय धादिङ समाजका प्रेस संयोजक समेत हुन्। करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय रहेका उनी ११ वर्षदेखि जापानमा बसेर प्रवासी पत्रकारिता र नेपाली समुदायका विषयमा निरन्तर कलम चलाउँदै आएका छन्। अध्यक्षतर्फ गौतमको प्रतिस्पर्धा जापानमै लामो समयदेखि सञ्चार क्षेत्रमा काम गर्दै आएका पत्रकार रविन्द्र श्रेष्ठसँग हुने भएको छ। श्रेष्ठ अहिलेको कार्यसमितिमा उपाध्यक्ष हुन भने  गौतम सचिव हुन् ।

‘अध्यक्ष पदको उम्मेदवारी किन ?’ शीर्षकसहित सार्वजनिक गरिएको घोषणापत्रमार्फत गौतमले संस्थालाई अझ सक्षम, पारदर्शी र सदस्य–केन्द्रित बनाउन आफू अघि सरेको बताएका छन्।

गौतमका अनुसार, संस्थाले शुरू गरेका महत्त्वपूर्ण कामहरू निरन्तरता दिन, पत्रकार हितका कार्यक्रमलाई सुदृढ बनाउन र शाखालाई सक्रिय तथा सक्षम नेतृत्वमा अघि बढाउन आफू योग्य उम्मेदवार हुने उनले बताएका छन्।

उनले संस्थागत स्थायित्व, पारदर्शिता र सदस्यहरूको पेशागत विकासलाई आगामी कार्यकालको मुख्य केन्द्रबिन्दु बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, शाखालाई सबै सदस्यको साझा संस्था बनाउँदै पत्रकारिता प्रवद्र्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाइने उनले उल्लेख गरेका छन्।

गौतम अहिले नेपाल पत्रकार महासंघ जापान शाखामा सचिव पदमा कार्यरत छन्।

त्यसैगरी गजुरीका भूवन भण्डारीले सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। धादिङमै रहेर सुशासन, विकास पत्रकारिता र नागरिक मुद्दामा सक्रिय भण्डारी हाल जापानमा बसेर तपाईको न्यूज डट कम ( अनलाइन ) मार्फत जापानमा रहेका नेपाली समुदायका समस्या र गतिविधिहरुका साथै धादिङ जिल्ला संग सम्वन्धित समाचारहरु  नियमित रूपमा प्रकाशन गर्दै आईरहेका छन् ।

नीलकण्ठ नगरपालिकाधादिङका दुर्गा प्रसाद आचार्यले पनि सदस्य पदमै उम्मेदवारी दर्ता गराएका छन्। आचार्य जापानमा रहेर लामो समयदेखि निरन्तर पत्रकारितामा संलग्न रहँदै आएका छन्।

आसन्न निर्वाचनमा धादिङका पत्रकारहरूको उल्लेखनीय सहभागिताले जापानमा रहेका धादिङेली पत्रकारहरूको सक्रियता र उपस्थिति झनै सशक्त रूपमा प्रकट भएको छ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका गौतमलाई जापानको नेपाली समुदायमा मात्र नभई नेपाली सञ्चार क्षेत्र (रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन) मा समेत सुपरिचित, सरल, नम्र, स्पष्ट वक्ता तथा प्रेरणादायी व्यक्तित्व भनेर चिनिन्छ ।