नीलकण्ठ–८ का पूर्व वडा अध्यक्ष र छोरामाथिको आरोप झुटो भएको भन्दै स्थानीयको प्रहरीमा ध्यानाकर्षण

456 पटक पढिएको

१० मंसिर २०८२, बुधबार १९:२१ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८ का पूर्व वडा अध्यक्ष र उनका छोरामाथि लगाइएको जबरजस्ती करणी उद्योगसम्बन्धी आरोप झुठो भएको भन्दै स्थानीयवासीले कानूनको दुरुपयोग गरी कसैलाई फसाउने कार्य तत्काल रोक्नुपर्ने माग गरेका छन्।

दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता फरक रहेको भन्दै स्थानीयहरू बुधवार जिल्ला प्रहरी कार्यालय धादिङ पुगेर प्रहरीलाई लिखित निवेदन पेश गरि जाहेरी खारेजीको माग गरेका हुन् । ८ नम्बर वडाका २५० भन्दा बढी गाउँलेले हस्ताक्षर गर्दै प्रहरीलाई घटनाको सत्यतथ्य जाँचबुझ गर्न र गलत आरोप लगाई वदनाम गर्नेमाथि कारवाहीको माग गरेका हुन् ।

स्थानीयका अनुसार झगडा भएको समयमा गाउँलेहरूनै उपस्थित भएकाले बलात्कारको प्रयास गरिएको भन्ने आरोप सरासर गलत छ। सोही कारण करिब दुई सय पचास जनाभन्दा बढीको हस्ताक्षरसहित स्थानीयले प्रहरीमा निवेदन दर्ता गरी जाहेरी फिर्ता लिन तथा झुटा आरोप लगाउने पक्षविरुद्ध कारबाही गर्न माग गरेका छन्।

प्रहरीले जबरजस्ती करणी उद्योग, ज्यानमार्ने उद्योग र अभद्र व्यवहार सम्बन्धी जाहेरीका आधारमा ६५ वर्षीय पूर्व वडा अध्यक्ष र उनका ४० वर्षीय छोरालाई सोमबार नियन्त्रणमा लिएर मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो। अदालतले उनीहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीको भनाइ छ। जाहेरीमा छोराले एक महिलामाथि जबरजस्ती करणी उद्योगको प्रयास गरेको र गुहार सुनेपछि स्थानीयले उद्धार गरेको उल्लेख गरिएको छ, साथै बाबुले छोरालाई साथ दिँदै पीडितलाई कुटपिट गरेको आरोप पनि समावेश छ।

तर स्थानीयवासीले भने घटना नितान्त छिमेकीबीचको झगडा भएको दाबी गरेका छन्। सार्वजनिक जग्गा भोगचलनका विषयमा दुई छिमेकीबीच पहिलेदेखि नै मनमुटाव रहेको र यसअघि पनि झैझगडा हुँदै आएको उनीहरूको भनाइ छ। सार्वजनिक ठाउँमा दुई पक्षबीच भनाभन र हात हालाहाल हुनुलाई बलात्कार प्रयासको रूपमा दुष्प्रचार गरिनु गलत भएको गाउँलेहरुको भनाई छ । मंसिर ५ गते दिउँसो साढे १२ बजे धादिङबेसी–सल्यानटार सडकखण्डमा दुवै पक्ष झगडा गर्दा पूर्व वडा अध्यक्षको एउटा दाँत झरेको घटनाका एक प्रत्यक्षदर्शीले वताए ।

नीलकण्ठ–८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले घटनालाई गलत व्याख्या गर्दै व्यक्तिको प्रतिष्ठामा अनावश्यक रूपमा आघात पुर्‍याउने काम भइरहेको प्रतिक्रिया दिए। उनका अनुसार सामान्य छिमेकी विवादलाई जबरजस्ती करणीको रूपमा प्रचार गर्नु गलत मात्र होइन, समाजमै अविश्वास फैलाउने काम पनि हो। व्यक्तिगत मनोमालिन्यका कारण कसैलाई मुद्दामा फसाइदिनु उचित नहुने उनको धारणा छ।

घटनामा पिडक भनिएका व्यक्तिमाथि कानूनको दुरुपयोग गरी फसाउन खोजिएको आरोप गाउँलेहरूको छ। उनीहरूको दाबी अनुसार पीडित पक्षले लगाएको आरोप तथ्यहीन छ र प्रहरीदेखि मिडियासम्मले यस्ता संवेदनशील विषयमा अत्यधिक सावधानी अपनाउन आवश्यक छ। निराधार आरोपका आधारमा व्यक्तिको प्रतिष्ठा नष्ट हुने खालका सामग्री प्रकाशन गर्नु कुनै पनि हिसाबले उचित नहुने नीलकण्ठ–८ का सामाजिक कार्यकर्ता दिपक कोईरालाको धारणा छ।

यसअघि जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको जाहेरीका आधारमा डिन्यूज नेपालले मंसिर ९ मा समाचार प्रकाशित गरेको थियो।