भीमफेदी दुर्घटनामा ज्यान गुमाउने ६ मध्ये २ को पहिचान बाँकी
328 पटक पढिएको
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आइतबार साँझ यात्रुवाहक टाटा सुमो दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन्।
काठमाडौँबाट हेटौँडातर्फ गइरहेको ना.१ ज १७७८ नम्बरको टाटा सुमो भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये हालसम्म चार जनाको पहिचान खुलेको छ। मृतकहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल, हेटौँडा–२ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराईका करिब ५० वर्षीय अरबिन्द कुमार र भारत बिहार राज्य पटना निवासी ४२ वर्षीय रजनीस कुमार रहेका छन्।
दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जना पुरुषको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। ती व्यक्तिहरूको उमेर अन्दाजी ३६ र ४० वर्ष रहेको अनुमान गरिएको छ।
दुर्घटनामा घाइते भएका सुमो चालक गणेश थापा र १२ वर्षीय अभ्यास लम्सालको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको छ। यस्तै २१ वर्षीया रिचा चौधरीको अवस्था भने मध्यम रहेको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको नेतृत्वमा ट्राफिक प्रहरीसहित १० जनाको टोली घटनास्थलमा परिचालित गरिएको थियो। सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो।
हेटौँडा अस्पतालमा उपचारका क्रममा चिकित्सकले ६ जनालाई मृत घोषणा गरेका हुन्। दुर्घटनापछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा समेत घटनास्थल र अस्पताल पुगेका थिए।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








88vinchat isn’t bad honestly. I’ve won more than I’ve lost, which is always a plus. Give vinchat a try and see what you think.