राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारविरुद्ध आज उजुरी दर्ताको दिन

238 पटक पढिएको

२४ पुष २०८२, बिहीबार ०८:१५ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सदस्यको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन कार्यतालिका रहेको छ।

निर्वाचन आयोगका अनुसार बुधबार सम्पन्न उम्मेदवारी दर्तामा सातै प्रदेशका विभिन्न क्लस्टरबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आयोगले उम्मेदवारविरुद्ध आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म उजुरी दर्ता गर्न सकिनेजानकारी दिएको छ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी योग्य उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। त्यसपछि पुस २७ गते उम्मेदवारी फिर्ता लिने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ। सोअनुसार प्रदेशसभा सदस्य ५४५ र गाउँपालिका तथा नगरपालिकाका प्रमुख–उपप्रमुख १ हजार ४९८ गरी कुल २ हजार ४३ प्रारम्भिक मतदाता नामावली स्वीकृत गरिएको आयोगले जनाएको छ।

मतभार प्रणालीअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ।