आज माघे संक्रान्ति पर्व स्नान, दान र धार्मिक विधिसहित देशभर मनाइँदै

327 पटक पढिएको

१ माघ २०८२, बिहीबार ०८:१० सम्पादक: धादिङ न्यूज

काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज स्नान, जप, तप, ध्यान, साधना तथा दान गरी देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने विश्वास गरिन्छ, जसका कारण दिन क्रमशः लामा र रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिन गरिएको स्नान, जप, तप, ध्यान र दानलाई अत्यन्त पुण्यदायक मानिन्छ। यही धार्मिक विश्वासका कारण आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका तीर्थस्थलहरूमा माघ स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। तीर्थस्थलहरूमा विशेष मेला समेत आयोजना गरिएको छ।

तराई क्षेत्रमा माघ १ गतेलाई ‘नहान’ अर्थात् स्नान पर्वका रूपमा मनाउने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार आज बिहान तीर्थस्थलमा स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने मान्यता छ।

धर्मसिन्धु ग्रन्थमा माघे संक्रान्तिका दिन घ्यु, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा स्नान नगर्ने र ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ। त्यसैले यस दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुल लगायतका परिकार खाने चलन छ।

चिसो मौसममा शरीरलाई न्यानो प्रदान गर्ने यी तात्ता परिकार स्वास्थ्यका लागि लाभदायक मानिन्छन्। साथै माघे संक्रान्तिका दिन तिलको तेलले शरीर मालिस गर्दा दूषित तत्व बाहिर निस्कने तथा नाडी, स्नायुमण्डल र हड्डी सुदृढ हुने आयुर्वेदिक मान्यता रहेको छ।