विशेष महाधिवेशनलाई निर्वाचन आयोगको वैधानिकता, गगन थापा नेपाली कांग्रेसको सभापति मान्यता
282 पटक पढिएको
काठमाडौँ । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिक ठहर गर्दै गगन थापालाई औपचारिक रूपमा पार्टीको सभापति स्वीकार गरेको छ। आयोगको यस निर्णयसँगै लामो समयदेखि देखिँदै आएको कांग्रेसभित्रको आन्तरिक विवादले नयाँ मोड लिएको छ।
निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्तसहित अन्य आयुक्त तथा पदाधिकारीहरूको बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार दलको विवरण अद्यावधिक गर्दै गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने निर्णय गरेको हो। आयोगले थापा पक्षले पेश गरेको कागजात, निर्णय प्रक्रिया तथा विशेष महाधिवेशनका विवरणलाई कानुनअनुसार रहेको ठहर गरेको जनाइएको छ।
यसअघि बिहीबार गगन थापा पक्षले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा अद्यावधिकका लागि पेश गरेको थियो। सोही विवरणमाथि अध्ययन, छलफल र कानुनी परीक्षणपछि आयोगले थापा पक्षलाई मान्यता दिएको स्रोतले जनाएको छ।
उता नेपाली कांग्रेसको संस्थापन पक्षले भने कुनै विशेष महाधिवेशन नै नभएको दाबी गर्दै गगन थापा पक्षले गरेको निर्वाचन प्रक्रिया र निर्वाचित कार्यसमिति अवैधानिक रहेको जिकिर गरेको थियो। संस्थापन पक्षले यस विषयमा निर्वाचन आयोगमा छुट्टै निवेदनसमेत दर्ता गराएको थियो। तर आयोगले उक्त दाबीलाई स्वीकार नगरी थापा नेतृत्वलाई नै वैधानिक ठहर गरेको हो।
निर्वाचन आयोगको निर्णयसँगै गगन थापा अब कानुनी रूपमा नेपाली कांग्रेसको सभापति मानिने भएका छन्। यस निर्णयले कांग्रेसभित्र देखिएको नेतृत्व विवाद अन्त्यतर्फ जाने अपेक्षा गरिएको छ भने आगामी राजनीतिक गतिविधि र पार्टी संरचनामा महत्वपूर्ण प्रभाव पर्ने देखिएको छ।







