कांग्रेसमा अब गुटको अन्त्य, विधि–विधानको जित : सभापति गगन थापा
284 पटक पढिएको
काठमाडौँ । निर्वाचन आयोगले बिशेष महाधिबेशनलाई मान्यता दिएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टीमा विधि, विधान र पद्धति स्थापित भएको स्पष्ट पार्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न अपील गरेका छन् ।
आइतबार जारी प्रेस विज्ञप्तिमार्फत सभापति थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानून तथा पार्टी विधानअनुसार निर्णय गरेकोमा आभार व्यक्त गरेका छन् । उनले आयोगको निर्णयलाई कांग्रेसभित्र सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरिएको इमान्दार प्रयासको साझा प्रतिफल भएको बताएका छन् ।
सभापति थापाले पार्टी अब व्यक्तिको चाहनाले होइन, आम सदस्यको चाहनाले चल्ने स्पष्ट गर्दै नेपाली कांग्रेस आफ्नो मूल मूल्य, मान्यता र आदर्शमा फर्किएको दाबी गरेका छन् । विशेष महाधिवेशनमा सहभागी भएका–नभएका, सहमत वा असहमत सबै नेता–कार्यकर्तालाई यो विजय–पराजयको विषय नभई विधि र विधानको विजय भएको भन्दै संयम, जिम्मेवारी र एकता कायम राख्न सभापति थापाको आग्रह छ ।
“आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन,” सभापति थापाले बिज्ञप्तिमा उल्लेख गरेका छन् । जिम्मेवारी फरक हुन सक्ने भए पनि भुइँतहका कार्यकर्ता र सभापतिको हैसियत समान रहेको उनको भनाइ छ।
पूर्व सभापति शेरबहादुर देउवालगायत पार्टीका सबै अग्रज नेताबाट यस लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पूर्ण सहयोग रहने विश्वास पनि सभापति थापाले व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस आम मानिसको सार्वजनिक पूँजी भएको उल्लेख गर्दै उनले पार्टीले विगतका कमजोरीप्रति आत्मालोचना गर्दै सुधारको यात्रा सुरु गरिसकेको बताएका छन् । अब मूल्य र सिद्धान्तविपरीत कुनै सम्झौता नगर्ने तथा सत्ताका लागि अप्राकृतिक गठबन्धनको अन्त्य हुने स्पष्ट सन्देश पनि उनले दिएका छन् ।
अन्त्यमा सभापति थापाले सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै अग्रज, युवा र आम नागरिकलाई समुन्नत नेपाल निर्माणको यात्रामा कांग्रेससँग हातेमालो गर्न पुनः हार्दिक अपील गरेका छन् ।







