तामाङ समुदायले हर्षोल्लासका साथ  मनाउँदै  सोनाम ल्होछार

385 पटक पढिएको

५ माघ २०८२, सोमबार ०७:२७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । तामाङ समुदायले आज माघ शुक्ल प्रतिपदाको दिन देशभर विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रमका साथ सोनाम ल्होछार पर्व मनाएका  मनाउँदै छन् । हरेक वर्ष यसै दिन मनाइने ल्होछारले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परालाई निरन्तरता दिएको छ।

तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ। १२ वटा जीवजन्तु—मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर—का नामबाट वर्षचक्र निर्धारण गरिने ल्हो खोर्लो अनुसार प्रत्येक वर्ष फरक जनावरको वर्ष आरम्भ हुने विश्वास रहिआएको छ। यस पर्वले नयाँ ऊर्जा, सुख, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने मान्यता छ।

ल्होछारको अवसरमा भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ज्येष्ठजनबाट आशीर्वाद ग्रहण, ढोगभेट, सामूहिक नाचगान तथा परम्परागत परिकारको तयारी र सेवन गरिन्छ। समुदायका सदस्यहरू एकै स्थानमा भेला भई आपसी सद्भाव र एकताको भावना सुदृढ गर्ने यो पर्व सांस्कृतिक पहिचानको महत्वपूर्ण अवसरका रूपमा लिइन्छ।

तामाङसँगै ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायत हिमाली तथा पहाडी समुदायले पनि आ–आफ्नो परम्परा अनुसार ल्होछार मनाउँदै आएका छन्। तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक लगायत जिल्लामा पर्व विशेष उत्साहका साथ मनाइन्छ ।

राजधानी काठमाडौंको टुँडिखेल, बौद्ध र स्वयम्भू क्षेत्रमा सांस्कृतिक झाँकी, परम्परागत पोशाक प्रदर्शन, तामाङ सेलो तथा डम्फु नृत्य, शुभकामना आदानप्रदानलगायत कार्यक्रम आयोजना गरिएका छन्। सोनाम ल्होछारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।