निर्वाचनको सम्भावित परिणाम प्रक्षेपण गर्ने आधा दर्जन वेबसाइट बन्द गर्न आयोगको निर्देशन

373 पटक पढिएको

१९ माघ २०८२, सोमबार ०७:१७ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी एक्जिट पोल (मतदानपछिको मत सर्वेक्षण) तथा निर्वाचन परिणामको प्रक्षेपण गर्ने विभिन्न वेबसाइटहरूलाई निर्वाचन आयोगले बन्द गराउने प्रक्रिया अघि बढाएको छ।

आयोगले निर्वाचन आचारसंहिता र पत्रकारिताको मूल्य मान्यता विपरीत कार्य गरेको भन्दै त्यस्ता वेबसाइटहरू बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको हो।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, केही डिजिटल प्लेटफर्महरूले मतदाताको मनोविज्ञानलाई प्रभावित पार्ने र समाजमा भ्रम फैलाउने गरी प्रक्षेपण गरिरहेको पाइएकाले यस्तो कदम चालिएको हो। निर्वाचन हुनुअघि वा मतदानको समयमा गरिने यस्ता प्रक्षेपणले स्वतन्त्र र निष्पक्ष निर्वाचनको वातावरणमा खलल पुर्‍याउने आयोगको ठहर छ।

बन्द गर्न निर्देशन दिइएका वेबसाइटहरू:

आयोगले विशेष गरी निम्न वेबसाइटहरूलाई प्रतिबन्ध लगाउन सिफारिस गरेको छ:

  • रेट माइ नेता (ratemyneta.com)

  • एक्जिट पोल नेपाल (exitpollnepal.com)

  • नेपाल पोल (neppoll.com)

  • एचओआर २०२६ (Hor-2026.vercel.app)

  • नेपाल राइटस् (elections.nepalwrites.com)

  • पोलिमार्केट (polymarket.com को नेपाल निर्वाचन सम्बन्धी पेज)

कान्तिपुरको वेब पोर्टलमाथि पनि छानबिन

यसैगरी, कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेको वेब पोर्टल rate.ekantipur.com मार्फत भइरहेको ‘एप्रुभल रेटिङ’ (प्रतिनिधिसभा सदस्यहरूको लोकप्रियता मापन) प्रति पनि आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ। निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी यस्ता गतिविधि सञ्चालन गरेको भन्दै आवश्यक कारबाहीका लागि आयोगले नेपाल प्रेस काउन्सिललाई समेत पत्र पठाएको छ।

निर्वाचन आचारसंहिता अनुसार निर्वाचनको अवधिमा कुनै पनि उम्मेदवार वा राजनीतिक दलको हार–जितलाई लिएर गरिने वैज्ञानिक आधारबिनाका मत सर्वेक्षण र प्रक्षेपणहरू वर्जित छन्। आयोगले यस्ता कार्यलाई पत्रकारिताको न्यूनतम मूल्य र मान्यताको समेत उल्लंघन भएको बताएको छ।

आयोगले सबै सञ्चारमाध्यम र सरोकारवालाहरूलाई निर्वाचनको निष्पक्षता कायम राख्न र भ्रमपूर्ण सामग्री सम्प्रेषण नगर्न समेत सचेत गराएको छ।