११ महिनामा ६ हजार ७९९ विपद्का घटना, ४६४ जनाको मृत्यु
259 पटक पढिएको
काठमाडौं । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर ६ हजार ७९९ वटा विपद्का घटना भएको तथ्यांक सार्वजनिक भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा विभिन्न विपद्का कारण ४६४ जनाको ज्यान गएको छ भने ३८ जना बेपत्ता भएका छन्। यस्तै, एक हजार ८१४ जना घाइते भएका छन्।
विपद्का घटनाबाट देशभर १२ हजार ४५८ घरपरिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।
प्राधिकरणको विवरणअनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन्। ११ महिनाको अवधिमा ३ हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ।
त्यस्तै, सो अवधिमा बाढीका ३१८, पहिरोका ५९०, भारी वर्षाका ४२९, चट्याङका ३६७ र सर्पदंशका ५९२ घटना भएका छन्। यस्तै डढेलोका २४६, हावाहुरीका २९२ र जनावर आक्रमणका ४८८ घटना भएको तथ्यांक छ।
यसैगरी लेक लाग्ने ११९, हिमपहिरोका ५, भूकम्पका ७ तथा डुङ्गा पल्टिएका २ वटा घटना पनि भएका छन्।
प्राधिकरणका अनुसार फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म मात्रै देशभर २९ वटा विपद्का घटना दर्ता भएका छन्।







