धादिङमा अवैध नदी उत्खनन तत्काल रोक्न सांसद आशिका तामाङको कडा निर्देशन,

296 पटक पढिएको

२ चैत्र २०८२, सोमबार २१:२१ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले त्रिशूली नदीबाट भइरहेको अवैध नदीजन्य सामग्री उत्खनन तत्काल रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

केही दिनयता धादिङका गल्छी, गजुरी, सिद्धलेक र बेनीघाट–रोराङ गाउँपालिकाअन्तर्गत पर्ने त्रिशूली नदी किनार क्षेत्रमा मेसिन प्रयोग गरेर अवैध रूपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन भइरहेको भन्दै स्थानीयवासीले विरोध जनाउँदै आएका छन्। स्थानीय तहका केही जनप्रतिनिधिको मिलेमतोमा विभिन्न व्यक्तिले खुलेआम रूपमा नदी दोहन गरिरहेको आरोपसमेत लाग्दै आएको छ।

सर्वसाधारणले पटक–पटक विरोध जनाए पनि यस विषयमा प्रभावकारी सुनुवाइ नभएको गुनासो रहँदै आएको थियो। पछिल्लो समय सामाजिक सञ्जालमार्फत पनि यस्ता गतिविधिको तीव्र आलोचना भइरहेका बेला सांसद तामाङले चासो देखाउँदै उक्त कार्य तत्काल रोक्न निर्देशन दिएकी हुन्।

बेनीघाट–रोराङ गाउँपालिका वडा नम्बर ९ क्षेत्रमा अवैध रूपमा त्रिशूली नदीबाट बालुवा तथा गिट्टी उत्खनन भइरहेको जानकारी प्राप्त भएपछि आफूले सम्बन्धित निकायलाई तत्काल रोक्न निर्देशन दिएको सांसद तामाङले बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू जनताले विश्वास गरेर पठाएको जनप्रतिनिधि भएकाले कानूनविपरीत हुने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेकी छन्। साथै आफूले दिएको निर्देशनलाई बेवास्ता गर्ने वा हेलचक्र्याइँ गर्ने सम्बन्धित निकाय तथा व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिएकी छन्।

प्राकृतिक स्रोतको संरक्षण र जनताको हितका लागि आफू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले अवैध रूपमा भइरहेका यस्ता गतिविधि रोक्न सम्बन्धित निकायलाई जिम्मेवार बन्न आग्रह गरेकी छन्।

त्रिशूली नदी क्षेत्रमा अवैध उत्खननका कारण वातावरणीय जोखिम बढ्ने, नदीको बहावमा असर पर्ने तथा स्थानीय बस्तीसमेत जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासीले नियन्त्रणको माग गर्दै आएका छन्।