मुस्लिम समुदायले आज इद उल फित्र मनाउँदै: खुसी र भाइचाराको महापर्व

296 पटक पढिएको

७ चैत्र २०८२, शनिबार ०७:१८ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । मुस्लिम समुदायको एक महिना लामो कठोर ‘रमजान’ पर्व विधिवत् रूपमा समापन भएको अवसरमा आज देशभर हर्षोल्लासका साथ इद उल फित्र मनाइँदैछ। मुस्लिम धर्मावलम्बीहरूको सबैभन्दा ठूलो र पवित्र मानिने यो चाड रमजान महिनाको रोजा (व्रत) पूरा भएपछि चन्द्रमाको दर्शनसँगै मनाउने गरिन्छ।

इस्लामिक क्यालेन्डर अनुसार रमजान महिना सकिएपछिको ‘शवाल’ महिनाको पहिलो दिनलाई इद उल फित्रका रूपमा लिइन्छ। यस वर्ष फागुन ७ गते बिहीबारदेखि सुरु भएको रमजानको उपवास आज चैत ७ गते शनिबार विशेष प्रार्थना र उत्सवका साथ समापन भएको हो। इस्लामिक मान्यता अनुसार रमजान महिनामा शुद्ध मनले व्रत बस्ने र नमाज अदा गर्ने भक्तजनका सम्पूर्ण पुराना पापहरू अल्लाहले क्षमा गरिदिने विश्वास गरिन्छ।

यो ऐतिहासिक र धार्मिक महत्व बोकेको पर्वको सुरुवात इस्लामका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मक्काबाट मदिना बसाईं सरेपछि भएको मानिन्छ। धार्मिक विश्वास अनुसार पवित्र ग्रन्थ कुरान पहिलो पटक रमजान महिनाकै अन्त्यमा अवतरण भएको थियो। अर्को एक मान्यता अनुसार पैगम्बर हजरत मोहम्मदले ‘बद्र’को युद्धमा विजय हासिल गरेपछि सो खुसीयालीमा सबैको मुख मिठो गराएर उत्सव मनाउनुभएको थियो, जसलाई आज ‘मिठी इद’ वा ‘इद उल फित्र’का रूपमा संसारभरका मुस्लिमहरूले मनाउने गर्दछन्।

इद उल फित्रलाई विशेष गरी दान र परोपकारको पर्वका रूपमा समेत लिइन्छ। यस दिन मुस्लिम धर्मावलम्बीहरूले बिहान सबेरै स्नान गरी नयाँ लुगा लगाएर इदगाह वा मस्जिदमा भेला भई सामूहिक रूपमा विशेष नमाज अदा गर्दछन्। नमाजपछि एक-अर्कालाई अंकमाल गर्दै ‘इद मुबारक’ भनेर शुभकामना साटासाट गर्ने चलन छ। यस अवसरमा घर-घरमा विशेष गरी सेभई, शिरखुर्मा जस्ता मीठा परिकारहरू र विभिन्न मिठाईहरू बनाएर पाहुना तथा आफन्तलाई खुवाउने गरिन्छ।

पर्वको मुख्य विशेषताका रूपमा ‘इदी’ बाँड्ने परम्परा रहेको छ, जहाँ ठूलाले सानालाई र आफन्तहरूलाई उपहार वा नगद प्रदान गर्दछन्। गरिब र असहायहरूलाई दान (जकात र फित्रा) दिएर खुसी बाँड्ने यो पर्वले समाजमा सद्भाव, भाइचारा र एकताको सन्देश प्रवाह गर्दछ। आजको यस विशेष दिनमा मुस्लिम समुदायका मानिसहरू पारिवारिक जमघट र सामूहिक भोजमा रमाउँदै यो महान् पर्व मनाइरहेका छन्।