धादिङ अस्पतालमा किशोरीको मृत्युपछि तनाव, छानबिनको माग चर्कियो
314 पटक पढिएको
धादिङ, चैत्र ८ – जिल्ला अस्पताल धादिङमा उपचारका क्रममा एक किशोरीको मृत्यु भएपछि आइतबार बिहानदेखि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ।
नीलकण्ठ नगरपालिका–१३ निवासी १८ वर्षीया मिरा आचार्यको आज बिहान करिब ४ बजे उपचारकै क्रममा मृत्यु भएको हो। मृत्युपछि आक्रोशित बनेका मृतकका आफन्त तथा स्थानीयवासीले अस्पताल प्रशासनको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले अस्पताल परिसर घेराउ गर्दै नाराबाजी गरेका छन्। स्थिति तनावपूर्ण बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। साथै, सत्यतथ्य सार्वजनिक नभएसम्म शव नबुझ्ने अडान लिइएको छ, जसका कारण अस्पताल परिसरमा तनाव अझै कायमै रहेको छ।
यता अस्पताल प्रशासनले भने बिरामीको अवस्था अस्पताल ल्याउँदाखेरि नै गम्भीर रहेको जनाएको छ। अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवनचन्द्र झाले बिरामीमा अक्सिजनको कमी देखिएको र स्वास्थ्यकर्मीहरूले हरसम्भव प्रयास गर्दा पनि ज्यान जोगाउन नसकिएको बताएका छन्। उनले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारसँग छलफल भइरहेको जानकारी दिए।
आइतबार बिहान एक चरण छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको र अस्पताल सञ्चालन समितिका अध्यक्ष काठमाडौंबाट धादिङ आउँदै रहेकाले उहाँको उपस्थितिमा पुनः छलफल गरिने अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले पीडित पक्षले उठाएको छानबिनको मागप्रति आफूहरू सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया अगाडि बढाइने जनाएको छ।







