‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं’ भन्दै आज विश्व क्षयरोग दिवस मनाइँदै,

327 पटक पढिएको

१० चैत्र २०८२, मंगलवार ०७:४५ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १० चैत  । “हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौं: जनताको शक्तिले, देशहरूको नेतृत्वमा” भन्ने मुख्य नाराका साथ आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी ‘विश्व क्षयरोग दिवस’ मनाइँदैछ। हरेक वर्ष मार्च २४ का दिन मनाइने यो दिवसले क्षयरोगको रोकथाम र उपचारका बारेमा जनचेतना जगाउने उद्देश्य राखेको छ।

क्षयरोग अर्थात् टिबी ब्याक्टेरियाका कारणले हुने एक सरुवा रोग हो। यो रोगलाई आधुनिक चिकित्सा पद्धतिबाट सजिलै रोकथाम तथा उपचार गर्न सकिने भए पनि अझै पनि यो विश्वव्यापी जनस्वास्थ्यको एक जटिल समस्याको रूपमा रहेको छ। सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगको कीटाणु पत्ता लगाएपछि मात्र यस रोगको पहिचान, निदान र उपचारमा वैज्ञानिक अनुसन्धान सुरु भएको थियो।

नेपालको सन्दर्भमा क्षयरोग अझै पनि चुनौतीकै रूपमा देखिएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वार्षिक करिब ६८ हजार नयाँ क्षयरोगका बिरामी हुने गरेका छन्। हाल देशभर ४० हजार ७ सय ७६ जना बिरामीहरू उपचाररत रहेका छन्। तथ्याङ्कले क्षयरोगी बिरामीहरूमा पुरुषको सङ्ख्या बढी देखाएको छ, जसमा ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला रहेका छन्। पछिल्लो समय १४ वर्षमुनिका बालबालिकाहरूमा समेत क्षयरोगको सङ्क्रमण बढ्दै जानुले स्वास्थ्य क्षेत्रमा नयाँ चुनौती थपेको छ।

क्षयरोग सङ्क्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा वा थुक्दा निस्कने कीटाणुहरू हावाको माध्यमबाट अर्को निरोगी व्यक्तिमा सर्ने गर्दछन्। यसका जीवाणुले शरीरको फोक्सोमा बढी असर गर्ने भए तापनि अन्य अङ्गहरूमा पनि यसको प्रभाव पर्न सक्दछ। लामो समयसम्म खोकी लाग्ने, खकारमा रगत देखा पर्ने, साँझपख ज्वरो आउने, राति पसिना आउने र शरीरको तौल घट्दै जाने यसका मुख्य लक्षणहरू हुन्। समयमै रोगको पहिचान हुन सकेमा नियमित औषधि सेवनबाट यो रोग पूर्ण रूपमा निको हुने चिकित्सकहरूको भनाइ छ।

नेपाल सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण गर्ने र सन् २०५० सम्ममा क्षयरोग पूर्ण रूपमा उन्मूलन गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएको छ। यो लक्ष्य प्राप्तिका लागि सरकारी र निजी क्षेत्रको सहकार्यका साथै समुदायको सक्रिय सहभागिता अनिवार्य देखिएको छ। श्वासप्रश्वासको माध्यमबाट सर्ने पुरानो र जटिल रोग भए तापनि आधुनिक स्वास्थ्य सेवाको पहुँच र जनचेतनाले यसलाई परास्त गर्न सकिने विश्वास लिइएको छ।