आजदेखि एसईई सुरु: धादिङबाट ५ हजारभन्दा बढी विद्यार्थी सहभागी
225 पटक पढिएको
धादिङ ,२०८२ चैत १९ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर एकैसाथ सुरु हुँदैछ।यस वर्षको एसईई मा धादिङ जिल्लाबाट कुल ५ हजार ४६ जना विद्यार्थीहरू सहभागी भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई धादिङका अनुसार परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्लाभर २४ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ।
यस वर्ष परीक्षामा सहभागी हुने कुल परीक्षार्थीमध्ये नियमिततर्फ साधारण धारका ४ हजार ९५ जना र प्राविधिक धारका १५१ जना गरी जम्मा ४ हजार २४६ जना रहेका छन्। त्यस्तै, आफ्नो नतिजा सुधारका लागि ग्रेड वृद्धि (पुरक) परीक्षा दिने विद्यार्थीहरूको संख्या ८०० रहेको छ। नियमित र ग्रेड वृद्धितर्फका सबै परीक्षार्थीहरूलाई समेट्दा यो वर्ष धादिङबाट ५ हजार ४६ जनाले एसईईको चुनौती सामना गर्दैछन्।
तथ्याङ्कलाई हेर्दा गत वर्षको तुलनामा यस वर्ष परीक्षार्थीको संख्यामा केही गिरावट आएको देखिएको छ। गत वर्ष (२०८१) धादिङ जिल्लाबाट ५ हजार ४७५ जना विद्यार्थीहरू एसईईमा सहभागी भएका थिए। यस हिसाबले यस वर्ष परीक्षार्थीको संख्या ४२९ ले घटेको देखिन्छ।
गत वर्ष धादिङको शैक्षिक नतिजा उत्साहप्रद रहेको थियो। अघिल्लो वर्ष सहभागी भएका कुल विद्यार्थीमध्ये ९ जनाले ‘क्लीन’ ४.०० जीपीए ल्याएर जिल्लाकै नाम उच्च राख्न सफल भएका थिए। यस वर्ष पनि विद्यार्थीहरूले उत्कृष्ट नतिजा ल्याउने अपेक्षा गरिएको छ। जिल्लाका सबै परीक्षा केन्द्रहरूमा आवश्यक सुरक्षा र जनशक्तिको व्यवस्थापन मिलाइएको र परीक्षा शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको सम्बन्धित निकायले जनाएको छ।
पहिलो दिन चैत १९ गते अनिवार्य अंग्रेजी विषयबाट परीक्षा सुरु हुनेछ। त्यसपछि क्रमशः चैत २० गते नेपाली, २२ गते गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुनेछ। चैत २७ देखि २९ गतेसम्म प्राविधिक धारका विषयहरूको परीक्षा सञ्चालन गरिनेछ।
यस वर्ष परीक्षा अनुगमन प्रणालीमा परिवर्तन गरिएको छ। विगतमा जस्तै सामूहिक अनुगमनलाई बोर्डले रोक लगाएको छ। परीक्षा केन्द्रभित्र विभिन्न समूहको प्रवेशले परीक्षार्थीलाई असहज बनाएको गुनासोपछि यस्तो निर्णय गरिएको हो।
अब प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिले परीक्षा केन्द्रको बाहिरी क्षेत्रबाट मात्र अनुगमन गर्ने व्यवस्था गरिएको छ। पत्रकारहरूलाई पनि परीक्षा केन्द्रभित्र प्रवेश नदिई बाहिरी दृश्य मात्र खिच्न पाइनेछ।
यस वर्षको एसईईमा परीक्षा सम्पन्न भएको केन्द्रमै कापी परीक्षण गर्ने निर्णय गरेको छ। सम्बन्धित विषयका शिक्षक उपलब्ध नभए वा सुरक्षा चुनौती देखिएमा मात्र जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले वैकल्पिक व्यवस्था गर्नेछ।
यो निर्णयको मुख्य उद्देश्य नतिजा छिटो सार्वजनिक गर्नु हो। शिक्षामन्त्री सस्मित पोखरेलले एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिइसकेका छन्। यसअघि नतिजा असार दोस्रो सातातिर मात्र आउने गरेको थियो।
बिहान ८ बजेदेखि सबै परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ। आज चैत १९ गतेदेखि सुरु भएर २९ गतेसम्म चल्ने परीक्षामा यस वर्ष देशभर कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदैछन्।
कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।
सहभागीमध्ये छात्राको संख्या बढी छ । दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना छन्। विदेशस्थित जापानको एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थी सहभागी हुनेछन्।







