सातामा दुई दिन सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम
267 पटक पढिएको
धादिङ ,२२ चैत । सरकारले इन्धन खपतमा कटौती र प्रशासनिक खर्चमा मितव्ययिता ल्याउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा दिने महत्वपूर्ण निर्णय गरेको छ। आज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले २०८२ चैत २३ गतेदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बढ्दो पेट्रोलियम आपूर्ति संकट र वैदेशिक मुद्रा सञ्चितिमा परेको दबाबलाई कम गर्न यो कदम चालिएको हो। यो व्यवस्था देशभरका सरकारी कार्यालयहरू र सम्पूर्ण शैक्षिक संस्थाहरूमा अनिवार्य रूपमा लागू हुनेछ।
बिदा थपिएपछि सेवाग्राहीलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै सरकारले कार्यालय समयमा समेत हेरफेर गरेको छ। अबदेखि सरकारी कार्यालयहरू बिहान ९:०० बजे खुल्नेछन् र बेलुका ५:०० बजेसम्म सञ्चालन हुनेछन्। यसअघि १० देखि ५ बजेसम्म रहेको कार्यालय समयलाई एक घण्टा अगाडि सारिएको हो। यद्यपि शैक्षिक संस्थाहरूको हकमा भने साविककै समय तालिका वा आवश्यकता अनुसार व्यवस्थापन गर्न सकिने बताइएको छ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै अब सरकारी सेवाहरू हप्ताको पाँच दिन मात्र उपलब्ध हुनेछन्। इन्धनको मूल्य वृद्धि र आर्थिक चुनौतीका बीच सरकारले लिएको यो निर्णयले इन्धन बचतमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ। साथै आजको बैठकले डिजिटल नेपाल ट्रान्सफर्मेशनका लागि विभिन्न दातृ निकायबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण स्वीकार गर्ने र केही प्रशासनिक नियुक्ति तथा राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ। यो नयाँ व्यवस्था भोलि चैत २३ गतेदेखि नै कार्यान्वयनमा आउने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।







