सांसद आशिका तामाङको ‘एआई झुट’ पर्दाफास: संविधानको अपमान लुकाउन प्रविधिको सहारा

812 पटक पढिएको

२२ चैत्र २०८२, आईतवार २०:२० सम्पादक: धादिङ न्यूज

काठमाडौँ ,२२ चैत । धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ यतिबेला गम्भीर नैतिक र प्राविधिक विवादको घेरामा तानिएकी छिन्।

नेपालको संविधान जस्तो गरिमामय दस्ताबेजलाई हातमा लिएर हिन्दी रोमान्टिक गीतमा टिकटक भिडिओ बनाएपछि आलोचित बनेकी तामाङले आफ्नो बचाउका लागि बोलेको ‘सफेद झुट’ प्रविधिले नै उदाङ्गो पारिदिएको हो। केही दिनअघि सार्वजनिक भएको उक्त भिडिओमा उनले ‘तुम्हारा साथ मिला है, जरा मेरे दिल को संभालूँ’ बोलको हिन्दी गीतमा हाउभाउ र लिप-सिंक गरेको प्रस्ट देखिएको थियो। पदीय मर्यादा विपरीत संविधानलाई मनोरञ्जनको साधन बनाएको भन्दै सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि उनले आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उक्त भिडिओ आफूले नभई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले बनाएको दाबी गरेकी थिइन्।

सञ्चारकर्मीले प्रश्न सोध्ने बित्तिकै उनले बीचमै हस्तक्षेप गर्दै त्यो टिकटक एआईले बनाएको भन्दै पन्छिन खोजे पनि विभिन्न प्राविधिक परीक्षण र विश्लेषणले उनको उक्त दाबीलाई पूर्ण रूपमा गलत साबित गरिदिएका छन्। एआई भिडिओ पहिचान गर्ने विश्वविख्यात प्लेटफर्म ‘हाइभ मोडरेसन’ र गुगलको ‘सिन्थ आईडी डिटेक्सन’ मा गरिएको परीक्षणबाट उक्त भिडिओमा एआई प्रयोग भएको सम्भावना शून्य प्रतिशत देखिएको छ। यसको अर्थ यो भिडिओ कुनै सफ्टवेयरले स्वचालित रूपमा बनाएको नभई क्यामेराबाटै खिचिएको वास्तविक भिडिओ हो। भिडिओमा देखिएका नेपाली अक्षरहरू, सांसद तामाङको प्राकृतिक हाउभाउ र गीतको शब्दसँग मिलेको ओठको चालले यो भिडिओ खिचिएकै हो भन्ने प्रस्ट पार्छ।

आफ्नो गल्ती स्वीकार गरी माफी माग्नुको साटो प्रविधिलाई दोष दिएर सार्वजनिक रूपमै भ्रामक तथ्य पेस गरेपछि सांसद तामाङको थप आलोचना भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले देशको नीति निर्माण गर्ने थलोमा पुगेका जनप्रतिनिधिले जनतालाई यसरी मूर्ख बनाउन खोज्नु दुःखद र आपत्तिजनक भएको टिप्पणी गरेका छन्। संविधानको कुन अनुसूचीमा हिन्दी गीत छ भन्दै व्यङ्ग्य गरिरहेका सर्वसाधारणले संसद्मा भत्ता र गाजलको मात्र चर्चा हुने हो कि गम्भीर विषयको पनि भन्दै प्रश्न उठाएका छन्। यो प्रकरणले नयाँ भनिएका राजनीतिक शक्ति र तिनका प्रतिनिधिहरूको नैतिक धरातल र गम्भीरतामाथि समेत ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ।