आगलागीले रित्तियो जीवन थापाको परिवार; गाउँपालिका अध्यक्षसहितको टोली राहत बोकेर घरदैलोमा
1021 पटक पढिएको
त्रिपुरासुन्दरी, (धादिङ) – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ ओडारेमा गएराति भीषण आगलागी हुँदा ठूलो धनजनको क्षति भएको छ। स्थानीय जीवन थापाको घर र बाख्रा फार्ममा एकैसाथ सल्किएको आगोले फार्ममा रहेका करिब ६० वटा बाख्रा र कुखुरा जलेर नष्ट भएका छन्।
आगलागीबाट थापाको घरमा रहेको नगद १ लाख ५० हजार रुपैयाँ र ३ तोला सुन समेत जलेको छ। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
घटनाको खबर पाएलगत्तै गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष शिव अधिकारी र निवर्तमान उपाध्यक्ष देवी कुमारी बुर्लाकोटीसहितको टोलीले घटनास्थल पुगेर स्थलगत अवलोकन गरेको छ। टोलीले पीडित परिवारलाई भेटेर सान्त्वना दिँदै क्षतिको विवरण संकलन गरेको छ।
विपद्को घडीमा गाउँपालिकाले थापा परिवारलाई तत्काल गुजाराका लागि आवश्यक राहत सामग्री उपलब्ध गराएको छ। गाउँपालिकाको तर्फबाट खाद्यान्न, लत्ताकपडा, बासका लागि टेन्ट (पाल), ग्यास चुलो, सिलिन्डर र भान्छाका लागि आवश्यक भाँडाकुँडा हस्तान्तरण गरिएको छ।
अवलोकनका क्रममा अध्यक्ष राजु उप्रेतीले यति ठूलो क्षतिले गाउँपालिकालाई दुखी तुल्याएको बताउँदै पीडित परिवारको पुनर्स्थापनाका लागि स्थानीय सरकारले थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यवाहक वडा अध्यक्ष शिव अधिकारीले आगलागीको कारणबारे अनुसन्धान भइरहेको र वडाले थप समन्वय गर्ने जानकारी दिनुभयो।







