गल्छीमा राष्ट्रिय र्यापिड चेस प्रतियोगिता हुने, विजेताले २५ हजार पाउने
350 पटक पढिएको
धादिङ, २७ चैत । धादिङको गल्छी गाउँपालिकामा आगामी वैशाखमा राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ। ‘गल्छी कप’ नाम दिइएको राष्ट्रिय र्यापिड चेस प्रतियोगिता–२०८३ आगामी वैशाख ४ र ५ गते (अप्रिल १७ र १८) सञ्चालन हुन लागेको हो। गल्छी गाउँपालिकाको आयोजनामा हुने यस प्रतियोगितालाई विश्व बुद्धिचाल महासंघ मा दर्ता गरिएको छ भने प्रतियोगिताको इभेन्ट कोड ४७३४२४ रहेको छ।
बैरेनीस्थित त्रिशूली भ्यु रिसोर्टमा सञ्चालन हुने यो प्रतियोगिता स्वीस लिग प्रणालीअनुसार जम्मा ९ राउण्डमा खेलाइनेछ। प्रत्येक खेलाडीले १५ मिनेटको समय पाउनेछन् भने प्रत्येक चालमा १० सेकेन्ड इन्क्रिमेन्टको व्यवस्था गरिएको छ। खेलको नतिजा बराबरी भएको अवस्थामा टाइ-ब्रेकका लागि डायरेक्ट इनकाउन्टर, बुचहोल्ज कट–१, बुचहोल्ज कट–२, जितको संख्या तथा कालो मोहरासँग खेलिएका खेलको संख्यालाई मुख्य आधार मानिने आयोजकले जनाएको छ।
पुरस्कारतर्फ मुख्य विधामा प्रथम हुने खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी द्वितीयले १५ हजार, तृतीयले १० हजार, चौथोले ८ हजार, पाँचौँले ६ हजार र छैटौँ हुनेले ४ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सातौँ स्थानदेखि दशौँ स्थानसम्म आउने खेलाडीहरूका लागि जनही ३ हजार रुपैयाँ नगद पुरस्कार तय गरिएको छ। मुख्य विधाका अतिरिक्त उत्कृष्ट धादिङ र गल्छीका खेलाडी, उत्कृष्ट महिला, अनरेटेड, विभिन्न एलो रेटिङ समूह तथा विभिन्न उमेर समूहमा समेत नगद पुरस्कारको व्यवस्था गरिएको छ। आयोजकका अनुसार कुनै पनि विधाको नगद पुरस्कार साझेदारी गरिने छैन।
प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले वैशाख २ गतेभित्र दर्ता शुल्क बुझाइसक्नुपर्नेछ। दर्ता शुल्क खुलातर्फ १ हजार रुपैयाँ तथा महिला, विद्यार्थी र स्थानीय खेलाडीका लागि ५ सय रुपैयाँ तोकिएको छ। बाहिरी जिल्लाबाट आउने खेलाडीहरूको सुविधाका लागि आयोजकले वैशाख ३ र ४ गते निःशुल्क आवासको व्यवस्था मिलाएको छ। वैशाख ४ गते बिहान १० बजे औपचारिक उद्घाटन भई सुरु हुने यो प्रतियोगिताको समापन वैशाख ५ गते दिउँसो २ बजे हुने तालिका रहेको छ। प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि धिराज बस्नेत, ठाकुर ढुंगाना वा सन्दीप घिमिरेलाई सम्पर्क गर्न सकिनेछ।








